कञ्चनपुरका सीडीओ, एसपी र डिएसपी तानिए

kanchanpur

 काठमाडौं । गृहमन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र एक डिएसपीलाई फिर्ता बोलाएको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आन्दोलन चर्किरहेका वेला प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठीलाई फिर्ता बोलाइएको हो ।

स्रोतका अनुसार गृहले नयाँ सिडियोमा र प्रहरी प्रमुखमा क्रमश तारानाथ अधिकारी र कुवेर कडायतलाई पठाएको छ । गृहले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए ।

बिहीबारै मात्रै आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Comments

Top