पोखरामा पनि एक बालिकाको लाश भेटियो, बलात्कार पछि हत्या भएको आशंका

puspa kc

 पोखरा । विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी पोखरा लामाचौरकी एक वालिकाको शव भेटिएपछि त्यसको विरोधमा काठमाडौंमा आन्दोलन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले कांठमाडौंमा आन्दोलन गरेका हो । नेविसंघले कञ्चनपुरको घटना र पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसी विषयमा निष्पक्ष छानविन गर्न माग गरेको छ ।

केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा भेटिएको हो । स्थानीयले पुष्पाको बलात्कार पछि भएको आशंका गरेका छन् । उनीहरुका अनुसार मृतकको लगाएको स्कर्ट शव भएको स्थान भन्दा ३÷४ हात पर भेटिएको छ । त्यस्तै योनाङ्गबाट रक्तश्राव भएको र त्यो रोक्न प्याड प्रयोग गरिएको पाइएको छ । यद्यपि प्रहरीले भने यस विषयमा केही खुलाइएको छैन ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) रविन्द्रमान गुरुङले पुष्पाको शरिरमा बाहिरी चोट पटक नदेखिएको बताए । उनले भने–‘अहिले नै हत्या वा लडेर मृत्यु के भएको हो यसै भन्न सकिन्न । हामी अनुसन्धान गरिरहेका छौं । पोष्टमार्टम रिपोर्ट आएपछि थप खुल्नसक्छ ।’

पुष्पा बिन्ध्यबासिनी मावि कक्षा ६ मा अध्ययनरत थिइन् । बिहीबार कक्षा १ मा अध्ययनरत बहिनीसँगै स्कुल बस चढेर लामाचौरस्थित घरतर्फ गइरहेकी थिइन् । उनले बसबाट करिव एक सय मिटर अगाडिनै झर्नुअघि बसमा ‘बहिनीलाई घर अगाडि बसबाट झार्दिनू, म टमाटर किनेर ल्याउँछु’ भन्दै बसबाट ओर्लेकी थिइन् ।

परिवारले पनि उक्त दिन साथीसँग गइहोली भनेर वास्ता गरेनन् । तर, शुक्रबार पनि उनी स्कुल नआएपछि सोधिखोजी शुरु गरेको थियो । खोज्दै जाँदा झाडीमा शव भेटिएको थियो ।

पुष्पाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । पुष्पाका बुबा नृतेन्द्र नेपाल प्रहरीका भूतपूव हवल्दार हुन् । उनी गण्डकी बोर्डिङ स्कुल लामाचौरमा सुरक्षागार्डका रुपमा कार्यरत छन् ।

 

Comments

Top