जनता किताबमा होइन, कराईमा पकाएको खिर खान चाहिरहेका छन् (भिडियाे सहित)

mahes basnet finalअब्बल राजनीतिज्ञको रुपमा आफूले आफूलाई स्थापित गर्न सफल युना नेता महेश बस्नेत अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य हुनुहुन्छ । २०५४ सालको स्थानिय निर्वाचनबाट देशभरकै सबैभन्दा कान्छो गाविस अध्यक्षका रुपमा निर्वाचित हुनुभएका बस्नेतको सफल राजनीतिक यात्रा पनि त्यसबेलाबाट नै शुरु भएको उहाँ बताउनु हुन्छ । राजनीतिमा लागेदेखि नै सामाजिक र आर्थिक रुपान्तरणका लागि वकालत गर्दै आउनु भएका बस्नेत राष्ट्रको समृद्धिका लागि निरन्तर क्रियाशिल भएर लाग्नु भएको छ । सानैदेखि सत्यको पक्ष रहेर सोच्ने बानी रहेका बस्नेत २०७१ साल भदौमा उधोगमन्त्री हुनुभएको थियो । 

आफू मन्त्री भएको बेला औधोगिक ऐन, विदेशी लगानी नीति, स्वदेशी वस्तु उपयोग निर्देशिका, एक प्रदेशमा एक ठूलो औधोगिक केन्द्र, प्रत्येक जिल्लामा सानो औधोगिक क्षेत्र, प्रदेश निर्वाचन क्षेत्रमा औधोगिक ग्रामको कन्सेप्ट, जीर्ण रहेका उधोग पुनः सञ्चालन, औधोगिक जनशक्ति निर्माणका अभियान मार्फत प्रत्येक निर्वाचन क्षेत्रबाट २/२ सय युवा तयारी पार्ने जस्ता महत्वपूर्ण कार्ययोजना निर्माण गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका बस्नेत संसदको अर्थसमितिको सदस्य पदमा रहेर देशको आर्थिक अवस्थालाई सबल बनाउन कटिबद्ध भएर लागिरहनु भएको छ । युवा संघ र यूथ फोर्सको पूर्व अध्यक्ष समेत रहनु भएका युवा नेता बस्नेतसँग www.mynewwnepal.com र यूनाइटेड पाेष्टका लागि सुन्दर विष्ट/कुमार भण्डारीले गरेको कुराकानी :

० कुनै बेला कानुन पढ्न ल क्याम्पस पुग्नुभएको तपाई अहिले सफल राजनीतिज्ञ हुनुहुन्छ, वकालत गर्न छाडेर कसरी राजनीतिमा प्रवेश गर्नुभयो ?

– शोषित र पीडितको पक्षमा वकालत गर्नका लागि नै मैले कानुन विषय अध्ययन गर्ने निर्णय लिएर ल क्याम्पसमा भर्ना भएको थिएँ । म पहिलेदेखि नै सामाजिक क्रियाकलापमा सहभागी हुन्थे । साथिहरुलाई जम्मा गरेर सामाजिक काममा लाग्न आग्रह पनि गर्थे ।

तर, त्यस्ता समाजिक काम गर्दै जाँदा मलाई के अनुभूती भयो भने सबै नीतिहरुको नीति चाहिं राजनीति रहेछ । राजनीतिमा टिप्पणी गरेर मात्र नहुँदोरहेछ भन्ने कुरा पनि मैले बुझें । आफैले ग¥यो भने मात्रै त्यसलाई ह्यान्डिल गर्न सकिंदो रहेछ भन्ने लागेर नै म राजनीति तिर सक्रिय हुन पुगे । अरुले बनाएको भान्साको स्वाद मिठो नलागिरहँदा आफैले बनाएर मिठो दिऊँ न भन्ने लागेर नै म राजनीतिमा लाग्न प्रेरित भएँ । अहिले आफूले सहि बाटो रोजेको रहेछु भन्ने लागेको छ ।

० तपाईं आफूले आफूलाई कसरी परिभाषित गर्नुहुन्छ ?
– म एउटा सामान्य किसान परिवारमा जन्मिएको व्यक्ति अहिले यहाँसम्म आईपुगेको छु । मसँग ग्रामिण भेगका हरेक समस्या र भोगाइको पर्याप्त अनुभव छन् । मप्रति कतिपय भ्रम पनि सिर्जना भएका होलान् । तर मैले त्यसलाई बोलेर नै चिर्न चाहेको छैन । म बोलेर भन्दा पनि व्यबहारबाट ति भ्रमहरुलाई चिर्न चाहिरहेको छु । त्यसमा सफल पनि भएको छु ।

जब म राजनीतिमा आएँ, त्यस बेला देखि नै असल मूल्य र मान्यता स्थापित गर्नुपर्छ भन्दै आएको छु र आफूले गर्दै पनि आएको छु । मैले युथ फोर्स र युवा संघको नेतृत्व लिएका कारण पनि मेरा बारेमा भ्रमहरु सिर्जना भएका थिए । तर, अहिले प्रायः ति सबै भ्रमहरु सकिएका छन् । म कसले के भन्यो भन्दा पनि मैले के गरिरहेको छु भन्ने कुरामा विश्वास राख्छु । मैले जाने बुझेसम्म सबैको भलो हुने नै काम गरिरहेको छु भने कहिलेकहिं अनजानमा गल्ती भइहाले पनि त्यसलाई तुरुन्तै सच्याउँदै आएको पनि छु ।

० आम जनतामा राजनीतिप्रति वितृष्णा जागृत भइरहेका बेला जनप्रतिनिधिहरुले राजनीति र राष्ट्रप्रतिको दायित्वबोध गरिरहेका छन् जस्तो लाग्छ तपाईलाई ?
– यो प्रश्न एकदमै महत्वपूर्ण चाहिं हो । तर, यसमा मापन कसरी गर्ने भन्ने कुराले प्राथमिकता पाउँछ । राजनीतिज्ञहरुप्रति आलोचना त हुन्छ नै । त्यो आलोचना भनेकै उहाँहरुप्रतिको भरोसा पनि हो । राजनीतिज्ञहरुले आलोचनालाई नै प्रेरणाको रुपमा ग्रहण गर्नुपर्छ ।

तुलनात्मक रुपमा राजनीतिमा लागेकाहरु नै आफ्नो दायित्वप्रति इमान्दार छन् जस्तो मलाई लाग्छ । सामान्यतयाः हामी जस्ता जनप्रतिनिधिहरुले के बुझेका हुन्छौं भने निश्चित समय पछि फेरि पनि तिनै जनताले लिने परिक्षामा पास हुनुपर्छ । त्यसैले जनप्रतिनिधिहरु आफूले गर्ने काम कारबाहीप्रति सचेत र जनताप्रति उत्तरदायित नै हुनुहुन्छ जस्तो लाग्छ मलाई । मलाई तुलनात्मक रुपमा राजनीतिमा लागेकाहरु बेइमान हुन्छन् भन्ने लाग्दैन ।

मेरो विषयमा कुरा गर्ने हो भने म चाहिं एउटा किसान परिवारबाट आएको व्यक्ति हुँ । फेरि पनि किसान नै बन्न मलाई कुनै आपत्ति हुँदैन । म पाँचतारे होटलको मिठो परिकार र एउटा सानो छाप्रोको नुन खोर्सानी र भात खान पनि तयार छु । जनताले नै मलाई यहाँसम्म पु¥याएका हुन् । म उनीहरुका लागि नै लड्नेछु ।

० कम्युनिष्ट सरकारको विचारधाराले कस्तो मुलुकको कल्पना गर्छ ?
– कम्युष्निट पार्टी समाजमा पछि परेका वर्ग र समुदायको हितको निमित्त अझ भर्नौ राज्यको आधार संरचनामा उनीहरुको प्रतिनिधित्व गराउने सवालसँग जोडिएर स्थापना भएको हो । कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा माक्सवाद, लेनिनवाद र जनताको बहुदलिय जनवाद जस्ता विभिन्न अभ्यासहरु हामीले ग¥यौं ।

कम्युनिष्ट पार्टीको एक मात्र उद्देश्य भनेको पछाडि परेको वर्ग र समुदायलाई समान हैसियत प्रदान गर्नु नै हो । समाजवाद र साम्यवादको अन्तिम लक्ष्य भनेको शोषणरहित र उत्पिडनरहित समाजको परिकल्पना पनि हो ।

० ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने तपाईंको पार्टीको नारालाई सफल बनाउने आधारहरु के–के हुन् ?
– ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने मुल आधार भनेको आर्थिक क्षेत्रको समृद्धि नै हो । तर, राजनीतिक संक्रमणको प्रभाव आर्थिक क्षेत्रमा परेको कुरालाई हामीले औंल्याउन सकेनौं । त्यसैले राजनीतिक रुपमा हामीले असंख्य हक अधिकार प्राप्त गरे पनि आर्थिक रुपमा भने त्यो कुनै पनि अधिकार प्राप्त गर्न सकेनौं ।

आज पनि वित्तिय संघियता कार्यान्वयनको सवाल चाहिं निकै ठूलो चुनौती बनेको छ । हामीले सबैभन्दा बढि ध्यान आर्थिक अवस्थालाई सुदृढ बनाउनका लागि नै दिनुपर्छ । आर्थिक क्षेत्रभित्र रहेका विकृति, विसंगति, अराजकता, भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने र मुलुकको राजश्वलाई सुदृढ गर्न सकेको खण्डमा ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा साकार हुन्छ ।

कर नतिर्ने, विल मिलाएर भन्सारको रेटमा ठगी गर्ने, जग्गाको सरकारी मूल्यांकन गरेर कम राजश्व तिरेर दलालहरु पोस्ने जस्ता विकृतिहरुलाई नियन्त्रण गरेर राजश्वलाई सुदृढ गरी अर्थतन्त्रलाई बलियो बनाउन सक्नुपर्छ । घरको ढुकुटी बलियो बनाउँदा मात्रै त्यो घरले सुख र समृद्धि दिन सक्छ ।

सवल अर्थतन्त्रकै लागि म अहिले संसदको अर्थ समितिमा रहेर काम गरिरहेको छु । हाम्रो देशमा पर्यटन, कृषि र जलस्रोतको क्षेत्रमा मनग्गे लगानी गर्ने र विदेशी लगानी भित्र्याउने वातावरण सिर्जना गर्नेतर्फ हामी सबै एकजुट हुनैपर्छ । उद्योगधन्दा कलकारखानको विकासका साथसाथै व्यपार घाटा कम गर्न, आयात भन्दा पनि निर्यातलाई बढवा दिन नसकेको खण्डमा ‘समृद्ध नेपाल सुखी नेपाली’ को परिकल्पना गर्न सकिंदैन ।

त्यसैले यो क्षेत्रलाई सुदृढ गर्नतर्फ सरकार लागिरहँदा हामीले आलोचना खेप्नु परिरहेको छ । तर, म त के भन्छु भने आलोचनाले नै सचेत गराउँछ । करको दायरामा अउनु पर्दा र आर्थिक अनुशासनमा बस्नुपर्दा कतिपयको चिच्चहट सुनिएको छ । तर, यो चिच्चाहटदेखि हामी आत्तिएका छैनौं ।

० तपाईंमा भएको नविनतम राजनीतिक सोच र आक्रमक विकासनीतिको प्रेरणाको स्रोत कसलाई मान्नुहुन्छ ?
– मेरो लागि सबैभन्दा ठूलो प्रेरणाको स्रोत भनेको परिवार नै हो । राजनीतिक रुपमा मैले अभिभावक मानेको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । परिवारिक प्रेरणाको एउटा प्रंसग यहाँ जोड्न चाहें ।

शाहि कालमा मलाई जेल हाल्दा मेरा साथीहरुले बुबालाई भेटेर ‘महेश जिले अलिकति सकारात्मक कुरा गर्ने हो भने उनलाई छुटाउन सकिन्थो’ भन्ने प्रस्ताव राख्दा बुबाले ‘एउटा छोरा र एउटी छोरी छिन्, यिनहरुको पालन पोषण र पढाउने जिम्मा म आफै लिन्छु । तर, आत्मसमर्पण गर भन्न जान मलाई मेरो नैतिकताले दिंदैन’ भन्ने जवाफ फर्काउनु भएछ । यो कुराले मलाई गौरभको अनुभूति गरायो ।

राजनीतिक रुपमा लागिरहँदा कहिं कतै नझुक्नु र नचुक्नु भनेर नै बुबाले मलाई मेरा आवश्यकताहरु आफैले पूरा गरिदिनु भएको थियो । मेरा आफन्त, साथीहरु र मेयर बासुदेव थापालाई पनि म प्रेरणाको स्रोत मान्दछु । त्यसैले पनि मलाई अहिलेसम्म इमान्दारिता र क्रियाशिलताका साथ राजनीतिमा निरन्तर लाग्न हौसल्ला प्रदान गरिरहेको छ ।

० तपाई निर्वाचित हुनु भएको जिल्लामा राष्ट्रिय गौरवको योजनाहरु अघि सार्दा कस्ता चुनौतिहरुको सामान गर्नु परिरहेका छ ?
– मैले अघि पनि भने आलोचना आएनन् भने हामी सचेत नहुन पनि सक्छौं । म आलोचनासँग डराउने व्यक्ति होइन । आलोचनालाई चिर्दै अगाडि बढ्ने हो र बढिरहेकै छु । विशेषतः भक्तपुरको कुरा गर्ने हो भने मैले देशकै सबैभन्दा ठूलो रंगशाला, प्राणि उद्यान केन्द्र, स्मार्ट सिटी र झण्डै पाँच हजार व्यक्ति अट्ने सभाहलको निर्माणका लागि पहल गरिरहँदा विभिन्न बाधा र अवरोधहरु आइरहेका छन् ।

तर, म विकासको कामबाट कहिल्यै पनि पछ हट्दिन । विगत लामो समयदेखि भक्तपुरलाई पकड क्षेत्र बनाएर राजनीति गर्दै आएको पार्टीकै अवरोधले विकासका कामले निरन्तरता पाउन नसकेको अवस्था छ । उहाँहरुले विकासलाई नै राजनीतिसँग जोड्दा चुनौतिहरुको सामना गर्नु परिरहेको हो । अझ हामीले प्रदेश ३ को राजधानी भक्तपुरलाई बनाऔं भन्दा उहाँहरुले त्यसको पनि विरोध गर्नु भयो ।

जसरी चाँगुनारायणमा काठमाडौं विश्वविद्यालय ल्याउँ भन्दा उहाँहरुले हुन्न भन्नु भएको कुरा भक्तपुरका जनताले विर्सिएका छैनन्, त्यसरी नै आज मैले भक्तपुरलाई आर्थिक रुपमा सक्षम बनाउन गरेको पहलकदमीको जनताले मूल्यांकन गर्ने नै छन् ।

भक्तपुरलाई पनि उपत्याका नै मानिन्छ । तर, चक्रपथले नै भक्तपुरलाई छोएको छैन । भक्तपुरमा आफूले आफूलाई सबैभन्दा ठूलो र पुरानो दल मान्ने नेपाल मजदुर किसान पार्टीले केही पहल गरेको भए सायद भक्तपुर यति पछि पर्दैनथ्यो होला । उहाँहरु विकास हुँदा जनसंख्या थपिन्छन् र तिनले मादलमा भोट हाल्दैनन् भनेर डाराउनु भएको छ, अनि कसरी हुन्छ विकास ? उहाँहरु आफू पनि गर्नु हुन्न र अरुलाई पनि गर्न दिनु हुन्न ।

हनुमन्ते कोरिडोर निर्माण, खानेपानी योजना, र ढल व्यवस्थापनका लागि मात्रै तीन अर्व भन्दा बढि बजेटको व्यवस्थापना गर्न हामी सफल भएका छौं । हनुमन्ते र मनोहरा खोलामा मात्रै सात वटा पक्की पुल निर्माण गर्ने सुनिश्चित भइसकेको छ । भक्तपुरमा भएका विभिन्न मठ मन्दिरका लागि पनि हामीले २० करोड भन्दा बढि लगानी भित्र्याइसकेका छौं । मेरो नविनतम विकास सोचप्रति केहि साथीहरुले विरोध जनाउनु हुन्छ भने त्यो उहाँहरुको राजनीतिक दरिद्रता हो ।

० सुसज्जित राजनीतिक संस्कारको विकास गर्न के गर्नुपर्छ ?
– राजनीतिक संस्कार भन्ने बित्तिकै समाजको समृद्धि, सभ्यता र संस्कार पनि जोडिन्छ । समाज जस्तो छ राजनीति पनि त्यस्तै हुन्छ । र, पार्टी र नेताहरु पनि त्यस्तै हुन्छन् । सभ्यता र संस्कार चाहिं सँगसँग जोडिएर आउँछ । भोको पेटले सभ्यताको भजन गाउन सक्दैन । मुख्य कुरा हामीले समाजलाई समृद्ध बनाउने नै हो । राजनीतिमा पनि धेरै परिवर्तन हामीले देखेका छौं । २०४७/०४८ सालतिर विद्यार्थी राजनीति गर्दै गर्दा कांग्रेस र एमालेबीच जन्ती मलामी नै बन्द जस्तै थियो ।

माओवादी द्धन्द्धकालमा उहाँहरुले कांग्रेस एमालेलाई कति घृणा गर्नुहुन्थ्यो । तर, अहिले त्यो अवस्था छैन । यसले पनि के देखाउँदछ भने राजनीतिक सस्कार र सभ्यता पनि क्रमश विकास हुँदै छ । यहाँ अर्को महत्वपूर्ण कुरा के छ भने पछिल्लो समय बढ्दै गएको असभ्य गालिगलौजको राजनीतिको भने हामीले अन्त्य गर्न सक्नुपर्छ ।

सकारात्मक संस्कार र सभ्यताको विकास गर्न सकेको खण्डमा सुसज्जित राजनीतिको स्थापना गर्न सकिन्छ । जुन शिक्षाले मात्र नभई अभ्यसले पनि गरेर देखाउन जरुरी छ । नत्र किताबमा चाहिं खिर पाक्ने तर, कराइमा चाहिं नपाक्ने हुन्छ । आज जनता कराईमा पाकेको खिर खान चाहिरकेका छन् । त्यसैले म कराईमा खिर पकाएर खुवाउने प्रयास गरिरहेको छु ।

 

Comments

Top