एयरपोर्टमा हवाई यात्रुबाहेकलाई प्रवेश निषेध

airport suchana

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरेको छ । विमानस्थल प्रशासनले एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथिभाई लिएर नआउन पनि आग्रह गरेको छ । एक्लै जान असक्षम रहेका यात्रुले एकजनासम्म सहयेगी मात्र भित्र लिएर जान सक्नेछन् ।

विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०–१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने विमानस्थल प्रशासनले जनाएको छ । भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ । निजी सवारी लिएर जानेले पनि यात्रु छाडेर सिधै फर्किनुपर्नेछ ।

होटल, ट्राभल लगायतका गाडीलाई पनि ५ देखि १० मिनेटभित्र यात्रु लिएर विमानस्थलबाट गइसक्नुपर्ने नियम बनाइएको छ । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन छ राष्ट्रका राष्ट्रप्रमुखहरु भोलीबाट आउन शुरु गर्नेछन् ।

 

Comments

Top