काठमाडौं–रक्सौल रेलमार्गको समझदारी

dharmashalaa

 काठमाडौं । नेपाल–भारतबीच काठमाडौं–रक्सौल रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको ब्रोडगेज लाइनसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ ।

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार भएको द्विपक्षीय छलफलपछि समझदारीपत्र आदानप्रदान भएको हो ।

प्रधानमन्त्री ओलीको पछिल्लो भारत भ्रमणमा यससम्बन्धी सहमति भएको थियो । समझदारीपत्रमा एक वर्षभित्र प्रतिवेदन दिने गरी भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडलाई सर्भे गर्ने जिम्मा दिइएको छ ।

शुक्रबारै प्रधानमन्त्री ओली र मोदीले भारतद्वारा निर्मित पशुपति धर्मशालाको संयुक्त उद्घाटन गरे । चार सय शैया भएको धर्मशाला २२ करोड नेपाली रुपैयाँमा निर्माण भएको हो ।

पशुपति मन्दिरमा अपराह्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमा सांस्कृतिक पुनर्जागरण सुरु भएको बताए । उनले भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीलाई सम्झिँदै उनी नेपालका असाधारण मित्र भएको बताए । वाजपेयीले लेखेको मेरी इक्यावन कविताएँको नेपाली अनुवाद गरेर बढीभन्दा बढी वितरण गर्ने घोषणा गरे ।

जवाफमा मोदीले भगवान् पशुपतिनाथका लागि सानो भेटीका रूपमा धर्मशाला निर्माण गरेको बताए । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध थप मजबुत हुने, नेपालको विकास र समृद्धिमा भारतको सहयोग निरन्तर रहने उनको विश्वास थियो ।

‘आस्था, अस्मिता र आफ्नोपनको ऐतिहासिक सम्बन्ध थप वृद्धि हुनेछ, धर्मशाला शिवभक्तका रूपमा मैले शिवका तमाम भक्तहरूका लागि हस्तान्तरण गर्दा ममा खुसीको सीमा छैन,’ मोदीले भने, ‘म भक्तिभावले गदगद छु ।’

मोदीले नेपालको लुम्बिनीले गौतम दिएको तथा भारतको बोधगयाले बुद्ध दिएको भन्दै नेपाल–भारत सांस्कृतिक रूपमा एकअर्काका परिपूरक रहेको उल्लेख गरे । प्रधानमन्त्रीले शीघ्र लुम्बिनी भ्रमणका लागि मोदीलाई आग्रह गरे । तर, मोदीले भ्रमणबारे केही बोलेनन् । (नयाँ पत्रिका )

Comments

Top