मुलुकी ऐन सच्याउन दबाब दिन आइतबारदेखि आन्दोलन घोषणा

doctor

 काठमाडौं । १ भदौदेखि लागू भएको मुलुकी ऐनले बिरामीहरूको सहज उपचारमा कठिनाइ उत्पन्न भएको भन्दै चिकित्सकहरू पुनः आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघले सरकारलाई मुलुकी ऐन सच्याउन दबाब दिन १८ देखि २२ भदौसम्मको आन्दोलन घोषणा गरेको छ । संघका महासचिव डा. लोचन कार्कीले आन्दोलनका क्रममा आकस्मिक स्वास्थ्य सेवा भने सञ्चालन हुने बताए ।

मुलुकी अपराध संहिता ऐन ०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन ०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अपराधीको व्यवहार गरेको चिकित्सक संघको ठहर छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले सरकारले चिकित्सकलाई अपराधीको सूचीमा राखेको भन्दै यस्तो अवस्थामा बिरामीहरूको सहज उपचारमा कठिनाइ उत्पन्न गर्ने भएकाले आइतबार सेवा दिन नसक्ने जनाएको छ ।

संघले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट विवादित दफा तथा उपदफाहरूमा संशोधन गर्ने प्रतिबद्धता आएकाले १५ भदौसम्म आन्दोलन स्थगित गरेको थियो । तर, १५ भित्र ऐन संशोधनको प्रतिबद्धताअनुसार सरकार अगाडि नबढेकाले पुनः आन्दोलनमा उत्रन बाध्य भएको संघको भनाइ छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको हस्ताक्षर संकलन तथा ५ हजार काउन्सिल प्रमाणपत्र मेडिकल काउन्सिललाई बुझाउने क्रम जारी रहेको महासचिव डा. लोचन कार्कीले बताए ।

Comments

Top