चिकित्सकहरू आन्दोलित, आकस्मिक बाहेकका सबै सेवा ठप्प

doctor

 काठमाडौं । १ भदौदेखि लागू भएको मुलुकी ऐनले बिरामीहरूको सहज उपचारमा कठिनाइ उत्पन्न भएको भन्दै चिकित्सकहरू पुनः आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघले आज  देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्।

नेपाल चिकित्सक संघले सरकारलाई मुलुकी ऐन सच्याउन दबाब दिन १८ देखि २२ भदौसम्मको आन्दोलन घोषणा गरेको छ । संघका महासचिव डा. लोचन कार्कीले आन्दोलनका क्रममा आकस्मिक स्वास्थ्य सेवा भने सञ्चालन हुने बताए ।

मुलुकी अपराध संहिता ऐन ०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन ०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अपराधीको व्यवहार गरेको चिकित्सक संघको ठहर छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले सरकारले चिकित्सकलाई अपराधीको सूचीमा राखेको भन्दै यस्तो अवस्थामा बिरामीहरूको सहज उपचारमा कठिनाइ उत्पन्न गर्ने भएकाले आइतबार सेवा दिन नसक्ने जनाएको छ ।

संघले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट विवादित दफा तथा उपदफाहरूमा संशोधन गर्ने प्रतिबद्धता आएकाले १५ भदौसम्म आन्दोलन स्थगित गरेको थियो । तर, १५ भित्र ऐन संशोधनको प्रतिबद्धताअनुसार सरकार अगाडि नबढेकाले पुनः आन्दोलनमा उत्रन बाध्य भएको संघको भनाइ छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको हस्ताक्षर संकलन तथा ५ हजार काउन्सिल प्रमाणपत्र मेडिकल काउन्सिललाई बुझाउने क्रम जारी रहेको महासचिव डा। लोचन कार्कीले बताए ।

छ संघले सार्वजनिक गरेको विरोधका कार्यक्रम

भाद्र १८ गते सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द

भाद्र १९ गते मंगलबारदेखि आकस्मिक बाहेकका बिरामी भर्ना गर्ने कार्य बन्द

भाद्र २० गते बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द

भाद्र २१ गते बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द

भाद्र २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द

Comments

Top