पहिरोले घर पुरिदा एकै घरका ३ बालबालिकाको मृत्यु

सल्यान

 सल्यान । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उनका दुई छोरी र एक छोरा पुरिएका हुन् । पुरिएका तीन जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा १० वर्षीया ललिता डाँगी, सात वर्षीय ललित डाँगी र चार वर्षीया मेनका डाँगी रहेको प्रहरीले जनाएको छ ।
आइतबार साँझ करिब पहिरोले घरको भित्ता भत्काएर बालबालिकालाई पुरे पनि सोमबार बिहान करिब साढे ७ बजेतिरमात्रै शव फेला पारिएको थियो ।

बाबुआमा भैंसी दुहुन गएको र बालबालिका भान्साकोठामा खाना खाँदै गर्दा पहिरोले घरको भित्ता भत्काउँदै उनीहरुलाई पुरेको थियो । घटनाको जानकारी पाएलगत्तै सिमखोली प्रहरी इकाइको टोली घटनास्थल पुगेको थियो । तर, रातभर पानी परेको र पहिरो पनि खस्ने क्रम जारी रहेकाले सोमबार बिहान मात्र शव बाहिर निकाल्न सकिएको प्रहरीले जनाएको छ ।

बालाराम र उनकी श्रीमती बेहोस् भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ । यसअघि यही भदौ १२ गते राति सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा पहिरोले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको थियो ।

Comments

Top