अन्ततः डाक्टरहरुसँग झुक्यो सरकार, आन्दोलन अझै जारी राख्ने चिकित्सक संघको चेतावनी

doctor_1

 काठमाडौं । विरामीको उपचार गर्न छाडेर सडक आन्दोलनमा उत्रिएका डाक्टहरुको माग सम्बोधन गर्न सरकार तयार भएको छ । राज्यमन्त्री सुरेन्द्र यादवले आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सहमती जनाएका हुन् । मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न स्वास्थ्य मन्त्रालय सहमत भएको हो ।

मुलुकी अपराध संहिताको इलाजको महलमा डाक्टरले लापरबाहीपूर्ण उपचार गरेमा जन्मकैदको व्यवस्था राखिएको विरोधमा नेपाल चिकित्सक संघको आहृवानमा डाक्टरहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनरत डाक्टरसँग सोमबार भएको वार्तामा स्वास्थ्य राज्यमन्त्री यादवले संहितामा शब्द चयनमा कमजोरी भएको भन्दै त्यसलाई सुधार्न सकिने बताएका नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए । तर, चिकित्सक संघले भने आन्दोलन नरोक्ने बताएको छ ।

सरकारले मुलुकी संहिता संशोधन गर्न सहमति जनाए पनि संघले संशोधन विधेयक संसदमा पेश नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको हो । स्वास्थ्य मन्त्रालयले संशोधनको मस्यौदा कानून मन्त्रालयमा पठाउने सहमति भए पनि कानून मन्त्रालयबाट संशोधन विधेयक तयार भएर संसदमा पेश नभएसम्म आन्दोलन जारी रहने संघले जनाएको छ ।

 

Comments

Top