नर्भिकको फेरि अर्को लापरबाहि, एउटालाई दिनुपर्ने औषधी अर्को विरामीलाई

narvic

 काठमाडौं । केहि महिना अघि देब्रे गोडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने गोडा काटेर सर्वसाधरणको स्वास्थ्यमाथि चरम लापरबाही गरेको नर्भिक इन्टरनेशनल अस्पतालले फेरि पनि अर्को लापरबाही गरेको रहस्य खुलेको छ । देशकै महंगोमध्येको अस्पताल भनेर चिनिएको नर्भिकमा देशका ठूलाबढा र धनाड्यहरुमात्र जाने गर्छन् ।

त्यसैले पनि नर्भिकले सर्वसाधरणको स्वास्थ्यमा भने चरम लापरबाही गर्दै आएको छ । नर्भिक अस्पतालमाथि अहिलेसम्म कसैले पनि कारबाही गर्ने आँट गरेको छैन । आफ्नो चरम लापरबाहिलाई आर्थिक प्रलोभनमा पारेर अस्पताल भित्रै ‘केश’ मिलाउँदै आएको नर्भिकमा यस्ता घटनाहरु पटक–पटक दोहोरिरहेका छन् ।

यता, यही भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी अपराध संहिता ऐनमा कडा सजायका प्रावधान राखिएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिँदा चिकित्सकको चरम लापरवाही भने दिनप्रतिदिन बढिरहेकै छन् । आइतबारदेखि चिकित्सकहरू आन्दोलीत भईरहँदा नर्भिकका चिकित्सकको लापरवाही फेला परेको हो । थापाथलिस्थित रहेको नर्भिक ईन्टरनेशनल अस्पतालमा एक बिरामीलाई दिनुपर्ने औषधि अर्को बिरामीलाई दिएपछि अस्पतालमा चिकित्सक र नर्सको चरम लापरवाही बाहिर आएको हो ।

नर्भिको सातौं तल्लाको बेड नं ७०९ मा रहेका सितापाईला मिलनटोलका ५१ बर्षिय अच्युतराज गौतमलाई बेड नम्बर ७०७ मा रहेकी शैलुदेवी यादवलाई दिनु पर्ने औषधि दिइएको पाइएको हो । एक चिकित्सकको सहल्लामा नर्स सुस्मिता कुमारी शाहले उक्त औषधि दिएकी थिइन् । ९ दिन अगाडीदेखि अल्सरको उपचार्थ रहेका गौतमका छोरा मुस्कानराज गौतमले उक्त कुरा थाहा पाएपछि अस्पतालमा हंगामा मच्चिएको थियो ।

अस्पतालमा हल्ला खल्ला भएपछि अस्पलातको कमीकमजोरी ढाकछोप गर्न व्यवस्थापनले तत्काल पीडित पक्षलाई उक्त औषधीको कारण कुनै दुर्घटना भएमा अस्पताल जिम्मेवारी हुने र कुनै समस्या खडा भए देश विदेश लगेर भए पनि उपचार गर्न नर्भिक व्यवस्थापन तयार रहेको भन्दै दुई पक्ष सहमत भएको थियो । नर्भिक व्यवस्थापनले आफ्नो लापरबाही ढाकछोप गर्न भदौं ९ गतेको मितिमा सहमतिपत्र बनाइसकेको छ ।

उता औषधि सिफारिस गर्ने चिकित्सकको बचाउ गर्दै दोष जति नर्स शाहलाई थुपारेर उनलाई कारबाही गरेको समेत नर्भिक व्यवस्थापनले जनाएको छ । स्रोतका अनुसार यस्तै लापरवाहीको कारणले नर्भिकमा धेरैले ज्यान गुमाईसकेका छन् । यो त केबल बाहिर आएको घटना हो । यो घटना पनि तत्काल थाहा भएको कारण बिरामीको ज्यान जोगाउन अस्पताल सफल भयो । यदि बिरामीको छोराले उक्त कुरा थाहा नपाएको भए उपचार्थ रहेका गौतमको ज्यान जान पनि सक्थ्यो ।

यस अघि पनि नर्भिकले चितवनकी ३८ वर्षीय बिन्दु पौडेलको उपचारमा चरम लापरबाही गरेको थियो । सामान्य रुपमा गोडा दुखेर उपचारका लागि हिड्दै अस्पताल पुगेकी उनको डाक्टरले शल्यक्रिया गर्नैपर्छ भन्दै विरामी नभएको गोडाको शल्यक्रिया गरेका थिए । पौडेलको उपचारका अस्पतालकै डा प्रवीण नेपाल र शैलेज रञ्जितकार संलग्न थिए ।

अस्पतालले देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा पौडेलको दाहिने खुट्टा चिरिदिएको थियो । त्यसबेला पनि अस्पतालले क्षतिपूर्ति स्वरूप उपचार खर्च फिर्ता गर्ने र अर्को खुट्टाको शल्यक्रिया निस्शुल्क गर्ने अस्पताल प्रशासन र बिरामीपक्षबीच लिखित सहमति गराएको थियो । अस्पतालका निर्देशक राजेन्द्रबहादुर सिंहले जता लगेर उपचार गर्नुपरे पनि सम्पूर्ण खर्च अस्पतालले नै व्यहोर्ने भन्दै गलत शल्यक्रियासँगै भविष्यमा आइपर्ने नसा स्वास्थ्यसम्बन्धी सबै समस्याको उपचार खर्चको जिम्मेवारी आफूहरुले नै लिने बताएका थिए । यसरी नर्भिकले पटक–पटक विरामीको स्वस्थ्यमा खेलवाड गर्दै आइरहेको छ ।

Comments

Top