जापानमा आएको शक्तिशाली आँधीमा ७ को ज्यान गयो, २ सय जना घाइते

japan aadhi

 काठमाडौं । मंगलबार जापानमा शक्तिशाली आँधी जाँदा ७ जनाको ज्यान गएको छ भने २ सय जना घाइते भएका छन् । आँधीका कारण दशौं हजार विस्थापित भएका छन् भने १० लाख भन्दा बढि प्रभावित भएका छन् । यो आँधी २५ वर्ष यताकै सबैभन्दा ठूलो भएको जापानीज सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मंगलबार ठूलो वर्षातपछि शिकाकु टापुबाट उठेको आँधी जापानको सबैभन्दा ठूलो टापु होङ्शुतर्फ प्रतिघण्टा २१६ किलोमिटरको गतिमा बहेको थियो । जेबी नाम दिइएको आँधीले रेल्वे स्टेशनको छत खसाल्नुका साथै ट्यांकरसमेत उडाएर पुलमा ठोक्काइदिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ठूलो वर्षातका कारण कतिपय ठाउँमा पहिरोसमेत गएको छ । आँधी र पहिरोबाट दश लाख बढि जनता प्रभावित भएका छन् । आँधी, बाढी र भू–क्षयको खतरा बढेपछि सरकारी अधिकारीहरुले घर छाड्न मानिसहरुलाई निर्देशन दिएका छन् ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गरेका छन् । उनले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ । आँधी र बाढीपछि सयौ हवाई सेवा, रेल तथा डुंगाहरुको सेवा रद्द गरिएको छ ।

बीबीसीका अनुसार ओसाकाको कान्सै अन्तर्राष्ट्रिय विमानस्थल बाढीले घेरिएको छ । जापान यस्ता आँधी तथा तुफानहरुको मारमा विगतदेखि नै पर्दै आएको छ । गत जुलाइमा मात्रै जापानमा गएको पहिरो तथा बाढीका कारण २ सय जनाले ज्यान गुमाएका थिए ।

Comments

Top