पोखरेलका विवादास्पद कामलाई लामाको निरन्तरता, हेडक्वाटरलाई दिए चुनौती

sspbasanta

 काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा विश्वराज पोखरेल प्रमुख छँदा गरिएको विवादास्पद कामलाई वर्तमान प्रमुख एसएसपी वसन्त लामाले निरन्तरता दिन थालेका छन् । राम्रो काम गर्न नसकेर सात महिनामै सरुवा गरिएका पोखरेलका विवादास्पद कामलाई लामाले पच्छ्याउन थालेपछि उनी पनि पोखरेल जस्तै बन्ने खतरा बढेको छ ।

 पोखरेल गरेको सबैभन्दा ठूलो विवादास्पद काम थियो, प्रहरी नियमावली विपरित पुरस्कार वितरण । जुन कामलाई लामाले बुधबार निरन्तरता दिएका हुन् ।  महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी नियमावली विपरीत मातहतका प्रहरीलाई उत्प्रेरित गर्ने भन्दै बंगलादेश बैंकसँग्को सहकार्यमा प्रत्येक महिना ५० हजार राशिसम्मको पुरस्कार बाँड्दै आएको छ ।

 परिसरले वितरण गरेको पुरस्कार प्रहरी नियमावली २०७१ विपरित रहेको हुँदा समेत हेडक्वाटरले यो प्रकरण अझै रोकेको छैन । प्रहरी नियमावली २०७१ को खण्ड ६४ को दफा १९७ मा आफ्नो र आफ्ना मातहत कार्यालयका प्रहरी कर्मचारीले कर्तव्य पालनको सिलसिलामा प्रशंसनीय काम गरेमा त्यस्तो प्रहरी कर्मचारीलाई पुरस्कारस्वरूप तलब र वा रकम दिनसक्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार प्रहरी महानिरीक्षकले पाँच ग्रेडसम्म तलब वृद्धि थप वा दुई हजार पाँचसय रूपैयाँसम्म दिनसक्ने प्रावधान छ ।

त्यस्तै कार्यालय प्रमुखकारूपमा रहेको प्रहरी उपरीक्षक र सोदेखि माथिका प्रहरी अतिरिक्त महानिरीक्षकले तीनतहको ग्रेडसम्मको तलब वृद्धि वा एक हजार पाँचसय रूपैयाँसम्म पुरस्कार दिने व्यवस्था छ । कार्यालय प्रमुखकै रूपमा रहेका प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकले दुई तहसम्मको ग्रेडसम्म तलब वृद्धि वा एक हजार रूपैयाँसम्म पुरस्कार दिने व्यवस्था गरिएको छ ।

 यसरी नियमावलीमा उक्त व्यवस्था हुँदा हुँदै त्यसको विपरित पोखरेलले शुरु गरेको गैर कानुनी कामलाई लामाले पनि निरन्तरता दिएपछि प्रहरीमा विकृति बढाउन खोजेको आशंका पैदा भएको छ । यस बारेमा एक पूर्व एआईजी भन्छन्–‘कुनै पनि कर्पोरेट संस्थाले प्रहरीलाई यसरी दिएको रकम स्वीकारेर पुरस्कारको नाममा विकृति बढाउनु हुँदैन ।  भोली उक्त संस्था बैंकिङ कसुरको मुद्दा वा अन्य ठगीमा मुछियो भने उक्त संस्थामाथि नै कारबाही गर्नु पर्ने हुन्छ । त्यो अवस्थामा पुरस्कार लिएका प्रहरीले कसरी कारबाही गर्न सक्छन् ?’

 त्यसो त प्रहरी संगठन आफैमा सक्षम संगठन हो र सहयोगको लागि कुनै कर्पोरेट संस्थासँग हात फैलाइरहनुपर्ने अवस्था पनि छैन ।  यस विषयमा प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीसँग सम्पर्क गर्दा कर्पोरेट संस्थाले दिएको रकम पुरस्कार वितरण वा अन्य विषय के हो भन्ने कुनै जानकारी नआएको बताए । उनले पुरस्कारको विषयमा हेडक्वाटरले कुनै सहमति नदिएको बताउँदै नियमन हुने उल्लेख गरे । (यूनाइटेड पोस्ट साप्ताहिक )

Comments

Top