दुई रजिष्टारसहित किर्ते कागजात बनाई ७० करोडको सम्पत्ति ठगी गर्ने पक्राउ

cib

 काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी) ले भारतीय नागरिकको कम्पनी हत्याएर ७० करोड भन्दा बढि ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । विगत १६ वर्षदेखि भारतीय नागरिकको घरमा काम गर्दै आएका रामेछाप सुनापाती गाउँपालिका–१ स्थायी घर भएका ३३ वर्षिय जितबहादुर मगरले भारतीय नागरिकको कम्पनी नै आफ्नो बनाई ठगी गरेको खुलेको छ ।

मगर भारतीय नागरिक राम निरंजन जटियाको शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि नामको कम्पनी नै आफ्नो बनाई ठगी गर्ने सफल भएका थिए । सिआईबीका प्रवक्ता एसपी सानुराम भट्टराईका अनुसार मगरले मकवानपुर हेटौडा–४ स्थायी घर भई हाल चन्द्रागिरी–८ बस्ने वर्ष ४५ को राजन प्रसाद लम्साल र चन्द्रागिरी–१४ बस्ने वर्ष ४० को निरज कुमार मानन्धरको मुख्य सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी शेयरधनी संचालक अध्यक्ष राम निरंजन जटियाको नामको सम्पूर्ण शेयरहरू खरिद गरेको भनी ठगी गरेका थिए ।

मगरले कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत शंकर इलेक्ट्रिक आफ्नो नाममा नामसारी गराइसकेको अनुसन्धानबाट खुलेको एसपी भट्टराईले बताए । उक्त कम्पनीको नाममा रहेको करिव ७० करोड रूपैयाँ मूल्य बराबरको सम्पत्ति ठगी गर्ने उद्देश्य राखी काम गर्ने मध्ये १२ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई बिधुतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा अनुसन्धान गरि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पेश गरिएको सिआईवीले जनाएको छ ।

सिअार्इबीले मगर समूहका ८ जना र कम्पनी रजिष्टारको कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत नारायण प्रसाद पोखरेल र उमेश मान जोशी तथा कम्पनी रजिष्टारको कार्यालय अार्इटी शाखामा करारमा कार्यरत ‍२ जना कर्मचारीहरूलाई समेत पक्राउ गरेकाे एसपी भट्टरार्इले जानकारी गराए । 

मगरलगायतका ब्यक्तिहरूले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि का अध्यक्ष जित बहादुर मगर हो भनी शंकर इलेक्ट्रिकको नाममा रहेको काठमाडौं महानगरपालिका (कामनपा)–४ बालुवाटार स्थित कित्ता नं. ४४१, ५०५ र ५४० को ३ रोपनी जग्गा सहितको घर, सतुंगल वडा नं. ९ को कित्ता नं. १२६ को १५ रोपनी जग्गा र म्याग्दी एवं नुवाकोट जिल्लामा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि को नाममा रहेको जग्गा वेचबिखन गर्न वैना गर्दै हिडेको समेत खुलेको छ ।

अनुसन्धानवाट खुल्न आएका अन्य विषयहरू:
– शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको संचालक समितिको वैठकको निर्णय भनी शेयरधनी संचालक राम निरंजन जटियाले जित बहादुर मगरलाई कम्पनीको ७५५ बराबर हुन आउने १८७५० थान शेयर बिक्री गरेको भनी किर्ते कागज खडा गरेको । विशेष साधारण सभाको वैठकवाट जित बहादुर मगरले आफुलाई अध्यक्ष बनाएको, राम निरंजन जटियालाई संञ्चालक भनी उल्लेख गरेको । मिति २०७५/०३/२६ गते राम निरजंन जटियाको संञ्चालक पदबाट राजिनामा स्विकृतिको निवेदन पेश गरेको देखाएको । साथै कम्पनीको अर्को संञ्चालक समितिको वैठकले कम्पनीको २५५ वरावर हुन आउने ६२५० थान शेयर राम निरंजन जटियाबाट जित बहादुर मगरले खरिद गरेको उल्लेख गरेको कागज बनाएको र कम्पनीको अर्को विशेष वैठकबाट जित बहादुर मगरको नाममा मात्र १ जनाको संचालक समिति हुने भनी निर्णय गरेको देखिएको ।

– कम्पनी रजिष्ट्रार कार्यालयको २०७५/०३/२९ र ३२ गतेको निर्णयले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि को शेयर लगत राम निरंजन जटियाको नामवाट जीतवहादुर मगरको नाममा नामसारी गरेको पाईएको ।

– का.जि. कामनपा। वडा नं. ४ बालुवाटार वस्ने राजभाई श्रेष्ठलाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि को शेयरधनी संचालक म हुँ भनी कागजात समेत देखाई जीत वहादुर मगर समेतले वालुवाटारको १४ आना १ पैसा ३ दाम जग्गा प्रति आना २१ लाख २५ हजारको दरले खरिदका लागी बैंक मार्फत १ करोड वैना लिएको र चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं। ४ घर भई लामो समयदेखि जापानमा व्यवसाय गरी वस्ने प्रेमसागर सापकोटालाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि को शेयरधनी संचालकको कागजात देखाई जीत वहादुर मगर समेतको समूहले चन्द्रागिरी–१५ सतुङ्गलको १५ रोपनी जग्गा प्रति आना १० लाख २५ हजारको दरले खरिदका लागी २ करोड वैना लिएको पाईएको ।

– शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि को शेयरधनी संचालक राम निरंजन जटियाले मिति २०७५।४।११ गते कान्तिपुर दैनिकमा जितबहादुर मगरले सहीछाप हस्ताक्षर किर्ते गरी सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको हुंदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सुचना जारी गरेको ।

– जित बहादुर मगरले मिति २०७५।४।१६ गते नयाँ पत्रिका दैनिकमा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि को शेयर र घर जग्गा समेत राम निरंजन जटियाको मन्जुरीमा कम्पनी रजिष्टारको कार्यालयबाट जित बहादुर मगरको नाममा नामसारी भईसकेकोले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि को नाममा भएको घर जग्गा खरिद गर्दा बाधा पर्ने छैन भनी सार्वजनिक सूचना जारी गरेको ।

– पुनः शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालि को शेयरधनी संचालक राम निरंजन जटियाले मिति २०७५।४।१७ गते नागरिक दैनिकमा मञ्जूरी वेगर जित बहादुर मगरले सहीछाप हस्ताक्षर किर्ते गरी शेयरधनी संचालक अध्यक्ष राम निरंजन जटियाको नामको सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको हुंदा हक हस्तान्तरण गरी नलिन सार्वजनिक सूचना जारी गरेको पाईएको ।

– प्रारम्भिक रूपमा पक्राउ भएका प्रतिवादीहरू राजन प्रसाद लम्साल, निरज कुमार मानन्धर र जित बहादुर मगर को वयान र प्राप्त सवुद प्रमाणको आधारमा कम्पनी रजिष्टारको कार्यालयका निम्न उल्लेखित ४ जना र अन्य ५ जनालाई पक्राउ गरिएको ।

पक्राउ गरिएका व्यक्तिहरूको बिबरण
राजन प्रसाद लम्साल
उमेर: ४५ वर्ष
ठेगाना: जिल्ला मकवानपुर हेटौडा–४, हाल चन्द्रागिरी–८
भूमिका: मुख्य योजनाकार

निरज कुमार मानन्धर
उमेर: ४० वर्ष
जिल्ला काठमाण्डौ, चन्द्रागिरी–१४
भूमिका: मुख्य योजनाकार

जित बहादुर मगर
उमेर: ३३ वर्ष
ठेगाना: जिल्ला रामेछाप सुनापाती–१
भूमिका: मुख्य योजनाकार

साईला भन्ने राज कुमार तामाङ
उमेर: ४० वर्ष
ठेगाना: जिल्ला काभ्रे चौबास–५ घर भई हाल बुढानिलकण्ठ

हिमाल महर्जन
उमेर: ३१ बर्ष
ठेगाना: चन्द्रागिरी–१०

चिरी बावु महर्जन
उमेर: ५५ बर्ष
ठेगाना: चन्द्रागिरी–१०

अमृत थापा मगर
उमेर: २८ बर्ष
ठेगाना: जिल्ला बारा, निजगढ –१, कलंकी

पुण्य प्रसाद खरेल
उमेर: ४० बर्ष
ठेगाना: जिल्ला मोरङ, रतुवामाई, हाल पेप्सीकोला

Comments

Top