राजेश हमाललाई ‘ब्रान्ड एम्बेसडर’ बनाएर सिमेन्ट कम्पनीको ठगी धन्दा

cementn

 पर्सा। वीरगन्जमा रहेको इन्टरनेसनल सिमेन्ट प्रालिले आफ्नो कम्पनीबाट उत्पादित ओम ब्रान्डका सिमेन्ट बिक्रीवितरणमा बदमासी गरेको पाइएको छ । उक्त कम्पनीले आफूले उत्पादन गरेको पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बेच्ने गरेको भेटिएको हो ।

 नेपाल गुणस्तर तथा नापतौल विभागले उक्त कम्पनीबाट उत्पादित ओम सिमेन्टमा बदमासी भएको भन्दै नेपाल गुणस्तर चिन्हसमेत स्थगन गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ओमको पीपीसी सिमेन्टलाई ओपीसी भन्दै संखुवासभाको खाँदबारीमा बिक्रीवितरण गरिएको भेटिएको हो ।

 एउटा उत्पादनको नाममा फरक वस्तु बेचिएको भेटिएपछि गुणस्तर चिन्ह स्थगन गरिएको पुडासैनीले बताए ।पीपीसी र ओपीसी सिमेन्टका विषयमा अधिकांशलाई थाहा नै हुँदैन । झन् उपभोक्ता आफैले गुणस्तर परीक्षण गर्ने भनेको त टाढाको कुरा हो । यस्तो अवस्थामा इन्टरनेसनल सिमेन्ट प्रालिले ग्रामीण क्षेत्रका सोझा साझालाई बढी झुक्याइएको पाइयो’ –नेपाल समाचारपत्रसँग कुरा गर्दै पुडासैनीले भने । ओम सिमेन्टमा भने त्यसको उत्पादनकर्ता कम्पनी इन्टरनेसनल सिमेन्ट प्रालिले उपभोक्तालाई मूल्य र गुणस्तर दुवैमा ठगी गरेको भेटिएको छ।

 ओपीसी र पीपीसी सिमेन्टमा मुख्य फरक भनेको सिमेन्ट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ अर्थात् ‘क्लिंकर’ को मात्रामा हो । ओपीसीमा ९७ प्रतिशतभन्दा बढी र पीपीसीमा त्योभन्दा निकै कम क्लिंकर प्रयोग भएको हुन्छ । क्लिंकरको मात्रा बढी भएकै कारण ओपीसी सिमेन्ट पीपीसीभन्दा केही रकम महँगो पर्न जान्छ । सल्फेट, अल्कालिक र क्लोराइड्सको मात्रा पनि पीपीको भन्दा ओपीसीमा बढी हुन्छ । यी तत्वहरुले नै सिमेन्टको गुणस्तर तथा बलियोपन निर्धारण गर्दछन् ।

ओपीसी र पीपीसी सिमेन्टमा हुने अर्को फरक भनेको सिमेन्ट ढलानलगायत काममा प्रयोग भइसकेपछि कति समयमा सेट हुने र बलियोपनामा पनि फरक पार्ने भन्ने पनि हो । ओपीसी सिमेन्टमा पीपीसीको तुलनामा बलियोपन बढी हुन्छ भने पीपीसी सिमेन्ट लामो समयका लागि बलियोपन दिने सिमेन्ट मानिन्छ ।वीरगन्जमा मुख्य कार्यालय तथा जगन्नाथपुरमा उत्पादन उद्योग रहेको उक्त कम्पनीले ओपीसी र पीपीसी ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

 दैनिक ६ सय टन सिमेन्ट उत्पादन क्षमता रहेको उक्त उद्योगले ज्योति, आयुष्मान र रुद्राक्ष ब्रान्डका सिमेन्ट पनि उत्पादन गर्दै आएको छ । उद्योगले ४३ र ५३ दुवै ग्रेडका ओपीसी सिमेन्ट उत्पादन गरेर बजारमा पठाउँदै आएको छ । आफू गुणस्तर चिन्ह प्राप्त ब्रान्ड रहेको भन्दै बजारमा प्रचार गर्दै आएको उक्त सिमेन्टको ‘ब्रान्ड एम्बेसडर’ मा महानायक राजेश हमाललाई नियुक्त गरिएको छ । केही समयअघि महानायक हमालले एउटा कपालमा प्रयोग हुने मेहन्दी सार्वजनिक गर्ने कार्यक्रममा आफूले खेल्ने कुनै पनि विज्ञापनमा त्यस वस्तुको गुणस्तरका बारेमा बुझेर मात्र काम गर्ने गरेको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।

आफूले विज्ञापन गरेका र उपभोक्तासँग प्रत्यक्ष जोडिएका कुनै पनि वस्तुको गुणस्तरमा पहिल्यै बुझ्ने गरेको र सो विषयमा आफू ढुक्क भएपछि मात्र विज्ञापन गर्नुभएको थियो । तर यो घटनाले भने महानायक हमालको सो प्रतिबद्धतामा समेत गम्भीर असर पु-याएको छ । सहयोगी अमिदले उपलब्ध गराएको अर्को नंम्बरमा भने सम्पर्क हुन सकेन ।सन् २०१५ मा बलिउडको महानायक भनेर चिनिने अमिताभ बच्चन तथा दुई जना नायिका माधुरी दीक्षित र प्रीति जिन्टाविरुद्ध म्यागी चाउचाउको विज्ञापन खेलेको भन्दै मुद्दा दायर भएको थियो । ‘टु मिनेट्स’ नामक म्यागी ब्रान्डको गुणस्तरमा प्रश्न उठिरहेका बेला उनीहरुले त्यसको विज्ञापन गरेको भन्दै भारतको एक स्थानीय अदालतमा मुद्दा दायर भएको थियो । (नेपाल समाचारपत्र )

 

Comments

Top