विमलकाे उत्कृष्ट गाेलसँगै नेपाल सेमिफाइनलमा (भिडियाे सहित)

bimal

 काठमाडौं । आयोजक बंगलादेशलाई २–० गोल अन्तरले हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा ३३ औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता लिएको थियो । करीब ३३ यार्ड टाढाबाट पाएको फ्री किक अवसरलाई घर्तिमगरले सानदार गोलमा परिणत गरेका थिए ।

सुनिल वललाई बङ्गलादेश डिफेण्डर वाले फैजलले फाउल गरेपछि नेपालले झण्डै ३३ यार्डबाट फ्री किकको अवसर पाएको थियो । खेलको ३३ औं मिनेटमा बिमल घर्तीमगरले नेपाललाई अग्रता दिलाएपछि खेल रोमाञ्चक बनेको थियो । नेपालले आयोजक बंगलादेशलाई सुरुदेखि नै दबाबमा राखेको थियो ।

पहिलो हाफमा १–० गोलले अग्रता लिएको नेपालका लागि ९० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै ग्रता दोब्बर बनाएका थिए । यो जीतसँगै नेपाल ६ अङ्क जोड्दै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । समान अङ्क भएको पाकिस्तान गोल अन्तरका आधारमा उपविजेता बन्दै अन्तिम ४ मा प्रवेश गरेका हो भने बङ्गलादेश र भूटान प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् ।

नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भए पनि दोस्रो खेलमा भूटानविरुद्ध ४–० र आयोजक बङ्गलादेशलाई २–० ले पराजित गर्न सफल भयो । सेमिफाइलनको खेल आगामी मङ्गबारदेखि हुनेछ । साफको बाह्रौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँचौँपटक सेमिफाइनल पुगेको हो ।

साफमा बिमलको कीर्तिमानी :

साफ फुटबलमा नेपालका स्ट्राइकर बिमल घर्तिमगरले कीर्तिमान बनाएका छन् । प्रतियोगितामा नेपालका तर्फबाट चार गोल गर्ने खेलाडीको सूचीमा बिमलले रेकर्ड बनाएका हुन् । बिमलले सन् २०१३ को साफमा पाकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए ।

उनले सन् २०१५ मा भारतविरुद्ध गोल गर्दै सङ्ख्या दुई पुर्याए । बङ्गलादेशमा जारी साफमा दुई गोल गर्दै उनले कीर्तिमान कायम गरे । पहिलो खेलमा पाकिस्तानविरुद्ध पनि बिमलले गोल गरेका थिए । यो गोलसँगै साफमा उनको गोल सङ्ख्या ४ पुगेको छ । साफमा चार गोल गर्ने खेलाडीमा हरि खड्का, अनिल गुरुङ र जुमानु राईको नाम छ ।

Comments

Top