मिश्र बन्लान त आज प्रधानन्यायाधीश ?

mishra

 काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रमाथि आज (सोमबार) सुनुवाइ गर्दैछ । आइतबार मिश्रविरुद्ध उजुरी गर्ने उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले सोमबार उजुरीबारे मिश्रसँग जवाफ माग्न लागेको हो ।

समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरिएका नवीनकुमार घिमिरेविरुद्ध पनि उजुरी आह्वान गरेको छ । समितिले असोज १ भित्र आफ्नो कार्यालयमा सोझै उपस्थित भएर, इमेलमार्फत वा जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी पठाउन सूचना जारी गरेको हो ।

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि ७ भदौमा बसेको परिषद् बैठकले मिश्रको नाम सिफारिस गरेको थियो । मिश्र सिफारिस भएसँगै सुनुवाइ समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।

मिश्रविरुद्ध सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा आफ्ना नातेदारको पक्षमा पर्ने गरी फैसला गरेको, फौजदारी अभियोग लागेका ४ जनालाई सफाइ दिएकोलगायत उजुरी परेका छन् । त्यसैगरी एनसेल लाभकर विवाद जारी रहेका बेला लाभांश लैजान दिने आदेश गरेकोलगायत आरोप पनि उनीविरुद्ध लगाइएको छ ।

सर्वोच्च अदालत ६ महिनादेखि कायममुकायमको भरमा चलिरहेको छ । गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भए पनि सर्वोच्चले अहिलेसम्म प्रधानन्यायाधीश पाउन सकेको छैन ।

Comments

Top