पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड दिनभर नखुल्ने सम्भावना, दर खान हिंडेका चेलीबेटी बीच बाटोमा अलपत्र

4 kilo

 काठमाडौं । नारायणगढ–मुग्लिन सडकको चार किलोमा ठूलो पहिरो खसेका कारण उक्त सडक खण्ड अवरुद्ध बनेको छ । पहिरो ठूलो भएका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउसोसम्म सञ्चालनमा आउने संभावना कम देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार सडकखण्डको कालिखोला, जलविरे, क्षेत्रमा पनि पहिरो खसेको छ।

रातभरि परेको पानीका कारण खसेको पहिरोले बिहान १ः२५ बजेबाट दुई तर्फी सवारी आवागमन बन्द भएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले पनि ठूलो पहिरो खसेका कारण पहिरो हटाउन दिनभर जसो लाग्ने अनुमान गरिएको बताए। फेरी पानी नपरे र सजिलोसँग पहिरो हटाउन पाए दिउँसो ३ बजेसम्म सवारी आवागमन गराउन सकिने उनले बताए।

नारायणगढ–मुग्लिन सडकखण्ड भएर यात्रा गर्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सडक आयोजनाले अनुरोध गरेको छ। दैनिक १० हजार गाडी ओहर–दोहर गर्ने यो सडक अवरुद्ध हुदाँ यात्रु अलपत्र परेका छन् । सडक अवरुद्ध भएपछि सडक खण्डका दुवैतर्फका गाडी लामो जाममा फसेका छन् । तीजको दरखाने दिन भएकाले दर खान माइत हिँडेका चेलीबेटी यसको चर्को मारमा परेका छन् ।

Comments

Top