तीजको दिन लमजुङमा तीन जनाको ज्यान गयो, दुई बेपत्ता

lamjung

 काठमाडौं । नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको दिन बुधबार परेको अविरल वर्षाका कारण लमजुङका विभिन्न स्थानमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । मस्र्याङ्दी गाउँपालिकाका–३ खुदीको पल्लोटारीमा पहिरोले बगाउँदा २ जना र सोही गाउँपालिका–४ श्रीचौरमा एक महिलाको ज्यान गएको हो।

पहिरोमा परेर पल्लोटारीकी ६५ वर्षीया अतिरुपा थापा, उनकी नातिनी १० वर्षीया सिरीषा थापा र श्रीचौरकी ४६ वर्षीया विष्णुमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्याmलय लमजुङले जनाएको छ ।

अत्याधिक वर्षाका कारण स्थानीय खोलाखोल्सीमा आएको बाढी र पहिरोमा परेर उनीहरुको ज्यान गएको बताइएको छ । त्यसैगरी मस्र्याङ्दी नदीको वहाव बढेपछि दोर्दीखोला जलविद्युत आयोजनाको निर्माणाधिन पावरहाउसमा कार्यरत् २ जनालाई बाढीले बगाएको छ। उनीहरु अझै फेला परेका छैनन्। बर्दियाका २७ वर्षीय बलिराम चौधरी र २२ वर्षीय लक्ष्मण थारुलाई नदीले बगाएको त्यहाँ कार्यत कर्मचारीहरुले हामीलाई जानकारी गराएका छन् ।

मस्र्याङ्दी गाउँपालिका–४ स्थित रामबजार नजिकैको खोलामा आएको बाढी र पहिरोले रामबजारको एक घर बगाएको छ भने अन्य घरहरु जोखिममा परेका छन्। पहिरोले स्थानीय जीतबहादुर गुरुङको घर पूरै बगाएको छ भने विनु गुरुङ र दमाई गुरुङको घरमा आंशिक क्षति पुग्नुको साथै अन्य घरहरु जोखिममा पारेका छन्।

मस्र्याङ्दी गाउँपालिकाका वडा नम्बर ३ अर्खलेबेंसीमा ३ घर, ४ रामबजारमा ४ घर, ६ बाहुँनडाडामा ३ घर पहिरोले बगाएको स्थानीयहरुले बताएका छन् ।

Comments

Top