एकपछि अर्को गर्दै नेकपाका नेताहरु विवादमा, कारबाही गर्न नसक्ने अनि अरुलाई दोष दिने ?

oli, prachanda and rawal

 बलात्कार जस्तो जघन्य अपराधलाई किन राजनीतिमा जोड्दै हुनुहुन्छ अध्यक्ष्य ज्यू,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा बढ्दो महिला हिंसा र बलात्कारका घटना ‘सरकार र पार्टीविरुद्ध नियोजित षड्यन्त्र हुनसक्ने’ भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ ।

अध्यक्ष दाहालले हिजो (विहिबार) अायाेजित एक कार्यक्रममा समाजमा बढ्दै गएको हत्या, हिंसाका घटनाहरु नियोजित हुनसक्ने भन्दै आशंका व्यक्त गरेका थिए । उनले भने–‘समृद्धिको यात्रामा अघि बढेको दुई तिहाइ बहुमतको सरकारलाई नराम्रो देखाउने कोशिष स्वरुप यस्ता घटनाहरु गराइरहेको हुनसक्छ ।’ 

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको चौतर्फी विरोध भइरहेका बेला सत्तारुढ पार्टी अध्यक्ष दाहालबाट यस्तो अभिव्यक्ति आएपछि उनकै आलोचना भएको हो। याे अभिव्यक्तिले अध्यक्ष दाहालले समाजमा अहिले भइरहेका घटनालाई राजनीतिक रुप दिन खोजेकाे प्रष्ट हुन्छ ।

विद्यार्थी नेता लेखनाथ न्यौपानेले लेखेको किताब ‘संघर्षको इतिहास’ विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका थिए । उनले महिला हिंसा, कालोबजारीलगायत सामाजिक विकृति र विसंगति दिनदिनै बढेको उल्लेख गर्दै यस्ता घटना नियोजित रूपले वा सरकार र पार्टीविरुद्ध षड्यन्त्रका रूपमा ल्याइएको हुनसक्ने बताए।

समाजमा सुन्नै गाह्रो हुने गरी महिला हिंसाका घटना बढेको बताउँदै उनले ‘हिंसालाई कसले नियन्त्रण गर्ने ? राज्यले नियन्त्रण गर्ने हो।’ भन्दै उल्टै प्रश्न गरेका थिए । सरकारमा बसेर जनताको पक्षमा काम गर्न नसक्ने, उल्टै यस्ता जघन्य अपराधलाई राजनीतिमा जोड्न खोजेपछि उनैको आलोचना हुन थालेको छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा नेकपालाई बदनाम गराउने कुरा कहाँबाट आयो ? प्रश्न गम्भिर र सोचनीय छ । घटनालाई निष्कर्षमा पुर्याउन स्थानीय प्रतिनिधिदेखि सरकारले मद्धत गर्नुपर्ने ठाउँमा उक्त घटनामा स्थानीय प्रतिनिधिकै असहयोग देखिदै आएको छ ।


बलात्कार, हत्या र हिंसा सामाजिक विषय हुन् । यी विषयमा कुनै पनि राजनीतिक रंग लगाइनु जरुरी छैन र हुँदैन पनि । केहि समय अघि निर्मला हत्याकाण्डलाई लिएर नेकपाका नेता भीम रावलले गलत अभिव्यक्ति दिंदा उनको पनि चर्को विरोध भयो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनीति गरिएको भन्ने दोहोर्याए । फेरि अहिले प्रचण्डले पनि पार्टी र दुई तिहाईको सरकारलाई बदनाम गर्न यस्ता घटना गराइएको भनेपछि यहि घटनाले नेकपाप्रतिको विश्वास जनतामा कम हुने त होइन भन्ने आशंका पैदा भएको छ । ।

kumar bhandari

यदि नेकपाका नेता रावल, अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले भने जस्तै विपक्षीले नै सरकारको बद्नाम गराउन यस्ता घटना गराएका हुन् भने सरकारले किन त्यस्ता अपराधीलाई कारवाहि गर्न सकेको छैन ?

यो मात्रै होइन्, सरकारको गतिविधिकै कारण नेकपा विवादमा तानिदै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहीबार निर्मला हत्याकाण्ड, रोल्पामा नेपाल तरुण दलका जिल्ला नगर सभापति रोहित पुनको हत्या र ललितपुरका पत्रकार राजु बस्नेत पक्राऊको विषयलाई लिएर संसद नै अवरुद्ध गरेको थियो । तर, नेकपाका नेताहरूकाे पछिल्ले अभिव्यक्तिले सरकारले गल्ति कमजोरीमा सुधार गर्ने भन्दा पनि आफ्ना नेताहरुलाई ‘सरकारलाई असफल बनाउन षड्यन्त्र गरेको’ भनेर भाषण गर्न लगाएर आफू बच्ने प्रयास गर्दै आएको जस्ताे देखिन्छ ।

देशमा शान्ति सुरक्षा, अमनचयनको जिम्मा लिएको सरकार दिन प्रतिदिन जघन्य अपराध बढ्दै गएकोप्रति ध्यान दिएर त्यसलाई कम गर्ने भन्दा पनि अरुको आलोचना गरेर कहिल्यै सफल बन्न सक्ला ? सरकारलाई असफल बनाउन विचरा ति अबोध बालिकामाथि बलात्कार गर्नेलाई किन सरकारले कारबाहीको दायरामा ल्याउन सकेन त ? कारबाही पनि गर्न नसक्ने, आफ्ना कार्यकर्तालाई बचाउन पनि खोज्ने अनि उल्टै बद्नाम गराउन कै लागि जघन्य अपराध गरेको भनेर पन्छिन मिल्छ ?

सरकार र सम्बन्धित दलका नेताहरूले यसरि भाषण गर्ने भन्दा पनि सरकारलार्इ सहयाेग गरेर यि र यस्ता अपराधहरूलार्इ कसरी न्यूनिकरणा गर्न सकिन्छ भनेर अगाडि बढ्नु पर्ने बेला अाएकाे छ । 

Comments

Top