निर्मला पन्त हत्याको अनुसन्धान गर्ने जिम्मा कञ्चनपुर प्रहरीलाई नै

nirmala panta

 काठमाडौं । भीमदत्त नगरपालिकाकी १३ वर्षिया निर्मला पन्तको हत्या भएको झण्डै तीन महिना पुग्न लागिसकेको छ । अनुसन्धानमा प्रहरी र स्थानीय प्रतिनिधिको भूमिका शंकास्पद देखिएको भन्दै स्थानीहरु विरोधमा उत्रिदा एक जनाको ज्यान गइसकेको छ भने दुई दर्जन भन्दा बढि घाइते भएका छन् । तर, प्रहरीले भने सत्य तथ्या छानविन गर्ने कोशिष गरिरहेकै छ । स्थानीयहरुले प्रहरीमाथि नै शंका गरेपछि प्रहरी प्रधान कार्यालयले पनि अनुसन्धानमा खटिएका प्रहरीमाथि नै छानविन शुरु गरिसकेको छ ।
त्यसैले पनि यतिबेला प्रहरी एकातिर हत्यार पत्ताा लगाउनु पर्ने र अर्कोतिर हत्यारालाई बचाउन प्रहरीबाटै षड्यन्त्र भएको हो वा होइन भन्ने पनि प्रष्टाउनु पर्ने भएकाले दुबै तर्फ अनुसन्धान गरिरहेको छ । प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले अलग–अलग समिति गठन गरि छानबिन समिति बनाएपनि अहिले सम्पूर्ण अनुसन्धानको जिम्मेवारी भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई नै दिइएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई आवश्यक जनशक्ति र प्राविधिक जनशक्ति उपलब्ध गराउने गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धानको सबै जिम्मा कञ्चनपुर प्रहरीलाई दिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कठायतले अनुसन्धान सुरु गरिसकेका छन्। यसअघि कञ्चनपुर प्रहरीमाथि घटनासँग सम्बन्धित सबै प्रमाण नष्ट गरेको आरोप लागेको छ। आन्दोलन चर्कंदै गएपछि त्यसबेला जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा रहेका सबै प्रहरी अधिकारी निलम्बनमा परेका छन्। एसपी डिल्लीराज बिष्ट, डिएसपी ज्ञानकुमार सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीश भट्ट तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ।

त्यसैगरी कञ्चनपुर प्रहरीलाई अनुसन्धानमा सघाउन खटिएका केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का डिएसपी अंगुर जिसीलाई पनि निलम्बन गरिएको छ। निलम्बित प्रहरीमाथि छानबिन गर्न डिआइजी नेतृत्वमा समिति समेत गठन भइसकेको छ ।

निर्मला बलात्कार–हत्या अनुसन्धानमा त्रुटि गरेपछि निलम्बनमा परेका पाँचजना प्रहरी अधिकृतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) धिरु बस्न्यातको नेतृत्वमा समिति बनाएको छ। यसअघि सोही प्रकरणमा छानबिन गर्न केन्द्रबाट तोकिएका एसएसपी उत्तम सुवेदी नेतृत्वको समिति पनि बस्न्यातको समितिमा गाभिएको छ।

प्रहरी प्रधान कार्यालयले विवादास्पद प्रहरीहरूको पोलिग्राफ टेस्ट गर्ने भएको छ। निलम्बित एसपी बिष्ट र अन्य प्रहरीको अनुसन्धान गतिविधिमाथि सर्वसाधारणले शंका गरेपछि उनीहरूको पोलिग्राफ टेस्ट गर्ने निर्णय भएको प्रधान कार्यालयले जनाएको छ। कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख बिष्टमाथि स्थानीयले शंका गरेपछि उनलाई केन्द्रमा तानेर कुवेर कठायतलाई पठाइएको थियो। एसपी बिष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका दाइ भूपेन्द्र बिष्टका छोरा शआयुषको डिएनए परीक्षणमा पठाइएको छ।

Comments

Top