निर्मलाको हत्यामा जुनसुकै व्यक्ति संलग्न भए पनि कडा कारवाही हुन्छ: प्रधानमन्त्री ओली

nirmalan

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् ।

 घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित प्रदेश नं ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन नसक्ने बताए ।

उनले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कारवाही गर्न आफूले शुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउँदै जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दिग्ध भएकाले निलम्बनसमेत गरिएको र पछिल्लो समयमा प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको जानकारी दिए ।

 प्रधानमन्त्री ओलीले भने, “प्रारम्भिक छानबिनमा त्यहाँका प्रहरीको भरपर्दा दोषी पत्ता लगाउने काममा ढिलाइ भयो । प्रहरीका अधिकृतले गल्ती वा बदमासी गरेका हुन सक्छन् तर अनुसन्धान पूरा नभइकन आरोप लगाइहाल्न मिल्दैन । त्यसैले राज्यले छानबिन गर्छ । कुनै जुलुस र धर्ना नभए पनि राज्यले कानूनी कारवाही गर्छ । दोषीलाई बचाउने कुरा सोच्न पनि सकिन्न ।”

Comments

Top