फिस्टेको चालमा सरकार : नेता सिंह

praksash mani singh

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी गरेका छन् । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको भन्दै उनले जनताले राहत भन्दा पनि आहत पाएको बताए ।

गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा मंगलबार शोभागवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले आफ्नो गिरोहभित्रका केही सीमित व्यक्तिहरुको इन्ट्रेष्टमा मात्रै बर्तमान सरकारले काम गरिरहेको आरोप लगाए ।

सरकार फिस्टे चराको गतिमा अघि बढिरहेको बताउँदै उनले दुई तिहाइ बहुमत भए पनि वर्तमान सरकारले काम गर्नै नजानेको दाबी गरे । उनले भने–‘यो सरकारले राम्रो काम गरोस् भनेर हामीले सुरुमै शुभकामना दिएकै हो । अहिले पनि हाम्रो शुभकामना छ । तर के गर्ने फिस्टेको खुट्टैबाट चाल पाइन्छ भनेजस्तै यिनीहरुलाई म्यानेजै गर्न आउँदैन ।’

प्रधानमन्त्री ओलीले सुशासन र समृद्धिका कुरा बढी तर काम कम गरिरहेको सिंहले बताए । दशैंको मुखमा इन्धनको मूल्य बढाइएको भन्दै उनले स्वयम् प्रधानमन्त्री, सत्तारुढ दलका नेता तथा सांसदहरुका असन्तुष्टिले पनि यो सरकार कसरी सञ्चालन भइरहेको छ भन्ने कुरा स्पष्ट हुने बताए ।

पत्रकारलाई हतकडी लगाएरको प्रसंग जोड्दै नेता सिंहले भने–‘प्रधानमन्त्रीज्यू सरकारको आलोचना गर्नेहरुविरुद्ध अरिंगाल बनेर जाइलाग्न निर्देशन दिनुहुन्छ । पत्रकारलाई हतकडी लगाएर लगिसकेको छ । हामीले त उहाँको केही टिप्पणीसमेत गर्न नहुने भइसक्यो ।’

Comments

Top