अब विकासका लागि आर्थिक मसान्त कुर्नु पर्दैन : सांसद बस्नेत

mahes basnet

 भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले अबका बर्ष विकास बर्षको रुपमा अगाडि बढ्ने दावी गरेका छन् । जनता झुक्काउने भाषण र ठूला–ठूला कुरा गर्ने भन्दा पनि काम गरेर देखाउनुपर्छ भन्ने नेता बस्नेतले आफू प्रतिनिधिसभामा जनताको प्रतिनिधिका रुपमा पुगेकाले जनताको चाहनाअनुसारका विकास निर्माणका कार्यलाई अगाडि बढाउन प्रतिबद्ध रहेको पनि बताए ।

पूर्व उद्योगमन्त्री समेत रहेका भक्तपुर क्षेत्र नं २ प्रतिनिधि सभाका सदस्यमा निर्वाचित बस्नेतले सूर्यविनायक नगरपालिका वडा नम्बर १ स्थित चरखण्डी पुलको सिल्यान्यास गर्दै विकास निर्माणका कार्यलाई आफू प्रतिवद्ध भएर लाग्ने तर त्यसमा जनताको पनि उत्तिकै सक्रियता आवश्यक रहेको बताए ।

जनताको अहिलेको चाहना भनेको सडक, खानेपानी र ढल लगायतका पूर्वाधार विकास नै भएकाले भौतिक पूर्वाधारण निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको पनि उनले बताए ।

एक करोड १२ लाख लागतमा निर्माण गर्न लागिएको उक्त पुल ८ मिटरको रहेको छ । पुलको निर्माणपछि सुर्यविनायक नगरपालिकाको वडा नम्बर १ र ४ लाई जोड्नेछ । पुल ३ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यो बर्ष मात्रै ३ वटा पुल निर्माण गर्न ९० लाख निकासा भइसकेको बताउँदै नेता बस्नेतले बर्षे विकासलाई कुर्नु नपर्ने बताउँदै उनले भने–‘अब हिउँदे विकास सुरु भइसक्यो । विगतमा जस्तो बर्षको अन्तिम हुने विकासलाई कुर्नु पर्दैन ।’

कार्यक्रममा सांसद बस्नेतले भक्तपुरको विकासको निम्ति गत बर्षमात्रै झण्डै २७ करोडको १०३ योजना सम्पन्न गर्न सफल भएको बताए । हनुमन्ते करिडोर निर्माणका लागि पनि ९१ करोड विनियोजन भइसकेकाले द्रुततर गतिमा कार्य अगाडि बढिरहेको उनले बताए ।

Comments

Top