राजधानीमा इन्धन अभाव, निगमद्धारा टयांकरको ढुवानी सम्झौता रद्द गर्ने चेतावनी

petrol line

 काठमाडौं । सार्वजनिक सवारी चालकले असोज २ गतेदेखि गरेको हडतालका कारण नेपालीहरुको महान चाड विजया दशमीको मुखमा उपभोक्तालाई सास्ती भएको छ । उनीहरुले पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयांकरसमेत चल्न नदिएपछि राजधानीलगायत अधिकांश स्थानमा पेट्रोलियम पदार्थको हाहाकार नै मच्चिएको छ । त्यसैले पनि दुई दिन देखि
अधिकांश पेट्रोल पम्प नै खुलेका छैनन् भने खुलेका केही पम्पहरुमा पनि धेरै लामो लाइन देख्न सकिन्छ ।

आयल निगमसँग पर्याप्त इन्धन भए पनि हडतालका कारण सहज रूपमा ढुवानी हुन नसकेको जनाएको छ । निगमले बिहीबार ५ लाख लिटरभन्दा बढी पेट्रोल र ४ लाख लिटर डिजेल वितरण गरेको भट्टराईले बताए । तर पम्पमा लाइन भने व्यापक थियो ।

यसैबीच आयल निगमले इन्धन ढुवानी नगर्ने टयांकरको छानबिन गर्ने भएको छ । इन्धन ढुवानी अवरोध गर्ने टयांकरको ढुवानी सम्झौता रद्द गरी खारेज गर्ने चेतावनी दिए पनि केहीले अटेर गरेपछि सूक्ष्म छानबिन गर्न लागेको हो । निगमका अनुसार केही चालकले निगमबाट पीडीओ लिए पनि आईओसीमा भने लोड लिन गएनन्, बिहीबार रक्सौलमा पनि लोड हुन सकेन । बेतालपुरमा पनि न्यून मात्रामा लोड भयो ।

यता, पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोरा भने अहिलेको अवरोध टयांकर व्यवसायीका कारणले नभएको दाबी गर्दै सार्वजनिक यातायातका ड्राइभरहरुले सिमराबाट टयांकर लोड गर्न जानै नदिएको दावी गर्छन् ।
अर्कोतिर यातायात व्यवसयी राष्ट्रिय महासंघले दसैंको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेपछि उपभोक्ताले अगामी दिनमा थप सास्ती खेप्नुपर्ने निश्चित छ । संहिताको विरोधमा हडतालहालै जारी भएको मुलुकी अपराध संहितामा चालकको गल्ती भएमा कडा कारबाही गर्ने प्रावधान राखिएको छ । उक्त संहिताको विरोधमा सार्वजनिक सवारी चालकले हडताल गर्दै आएका छन् । उनीहरूले वसन्त शर्मा र अर्जुन अधिकारीको सहसंयोजकत्वमा नेपाल स्वतन्त्र सवारी चालक संर्घष समितिसमेत गठन गरेका छन् । सोही संघर्ष समितिले हडताल गर्दै आएको हो ।

उनीहरूले आफ्नो आन्दोलनमा साथ दिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई समेत पत्रचार गरेका छन् । संघर्ष समितिका संयोजक वसन्त शर्माले महासंघलाई पठाएको पत्रमा भनिएको छ–‘सवारी तथा यातायात व्यवस्था ऐन २०५९ को संशोधित ऐन २०५४ मा सरकारले गरेको व्यवस्थाबाट हामी सवारी चालकहरू सवारी चलाउन नसक्ने गरी त्रसित अवस्थामा पुगेका छौं । सवारी चालकलाई अन्य अपराधीजस्तै जन्मकैदको सजायसम्मको व्यवस्था गरिएको छ, कानुन संशोधनसहितका विभिन्न १३ बुँदे माग गरेका छौं । जुन सवारी चालकलाई मात्रै नभई यातायात व्यवसायीलाई समेत आवश्यक छ । संघर्षका कार्यक्रम सफल बनाउन महासंघको साथ र सहयोग चाहिएकाले सवारी साधन बन्द गरी सहयोग पुर्‍याइदिनु हुन अनुरोध छ ।’

Comments

Top