इन्डोनेसियामा भूकम्पपछि आएको सुनामीमा परि मृत्यु हुनेको संख्या ८३२

indonesiya

  काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । उनीहरुले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।

इन्डोनेसियाली विपद् व्यवस्थापन निकायले सुरुमा आकलन गरिएको भन्दा निकै ठूलो क्षेत्र प्रभावित भएको जनाएको छ ।संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले ‘कपितय भग्नावशेषमा अझै ठूलो संख्यामा मानिसहरू फसेको’ जनाएका छन् ।
इन्डोनेसियाको तटीय क्षेत्रमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्पपछि ६ मिटर अग्ला सुनामीका छालहरूले पालु सहर बगाएको थियो ।


अधिकारीहरूले पालु सहरमा पुरिएका तथा भग्नावशेषमा फसेकाको उद्धार जारी रहेको जनाएका छन् । सुनामीपछि अस्पताल, होटल, किनमेल केन्द्र तथा हजारौं घरहरू क्षतिग्रस्त भएका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले करिब १६ लाख मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित भएको जनाएको छ ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले मृतकको संख्या केही हजार हुन सक्ने जनाए । उनका अनुसार उक्त क्षेत्रमा शक्तिशाली परकम्पहरू गइरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । राष्ट्रपति जोको विडोडोले पालुले हालसम्मकै विनाशकारी भूकम्प तथा सुनामीको सामना गरेको बताए । उनले मुख्य पर्यटकीय केन्द्र तालिसे सामुद्रिक तट ध्वस्त भएको जनाए ।

सुलावेसी टापु नजिकैको पालु करिब ३ लाख ३५ हजार मानिसहरूको बसोबास रहेको सहर हो । उद्धारकर्मीहरूले हातैले खनेर दुई दर्जन मानिसको उद्धार गरेका जनाइएको छ ।

सुनामीपछि कतिपय स्थानमा अवरुद्ध भएको विद्युत् आपूर्ति जारी नै छ । जसका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको अधिकारीले जनाएका छन् । पहिरोका कारण पालु सहर जाने मुख्य बाटो अवरुद्ध हुनुका साथै पुलसमेत ध्वस्त भएको छ । सहरका विभिन्न स्थानमा राखिएका टेन्टमा घाइतेहरूको उपचार भइरहेको छ । पालुको मुख्य विमानस्थल बन्द भएको छ भने उद्धार शिविरमा बसिरहेका मानिसहरूलाई सेनाले कार्गो जहाजमार्फत राजधानी जाकार्ताबाट लगिएका उद्धार सामग्री बाँडेको छ ।

Comments

Top