हजारौं शुभेच्छुक कमाएको छु : गायिका सुधा रत्न

Sudha 1

  काठमाडौं । गायिका सुधा रत्नले गीत संगीतको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी छिन् । काठमाडौंमा बसेर गीत गाउँदै आएकी सुधाका थुप्रै गीतहरु युट्युवमा सुन्न र हेर्न पाइन्छ । विशेष गरेर सुधाले आधुनिक गीतलाई आफ्नो पहिलो रोजाइमा राखेकी छिन् । सामान्य परिवारबाट आएकी सुधाले गीत संगीतभन्दा बाहिरको रोजगारीलाई कहिल्यै ध्यान दिइनन् । सुगम संगीत उनको पहिलो रोजाइ बन्यो । अहिले पनि सुगम संगीतमै रमाएकी छिन् ।

झण्डै १५ वर्षदेखि उनी गीत गाउँदै आएकी छिन् । आफ्नो क्षमतामा विश्वास राख्ने सुधा भन्छिन्, ‘कसैले गीत गाउन आग्रह गर्दा गाउँछु । कसैलाई पनि दवाव दिएर वा पावर लगाएर काम गरेकी छैन ।’ सानै उमेरदेखि गाउन थालेकी सुधालाई अहिले पनि गीत नै प्यारो लाग्छ । गृहजिल्ला दाङमा रहँदा सुधाले स्कुल, गाउँ, पूजाआजा आदिमा गाउने गर्थिन् । पछि ठूलो भएर गायन पेसामै सक्रिय हुने उनको सानैदेखिको रहर थियो । उनको इच्छा पूरा भएको छ । तर, अझै संघर्ष गर्नुपर्ने उनी बताउँछिन् । संघर्ष र प्रतिस्पर्धा गायिका सुधा लागि पर्याबाची बनेका छन् ।

Sudha 5

काठमाडौंका अधिकांश नाम चलेका गजल रेष्टुरेन्टमा गीत गाइसकेकी सुधाले पछिल्लो समय कमलपोखरीमा रहेको आलिसान गजल रेष्टुरेन्टमा गीत गाउँछिन् । उनको स्वरमा मिठास छ । त्यही भएर पनि गजल रेष्टुरेन्टमा उनको माग छ । सुधालाई गजलका अधिकांश पारखीहरुले चिन्छन् । ‘धन कमाउन नसकेपछि माया गर्ने दर्शक स्रोता कमाएकी छु’, उनले भनिन्, ‘सैयौँ होइन हजारौँको संख्यामा शुभेच्छुक कमाएकी छु ।’ आधुनिक, लोक, हिन्दी आदि सबै गीतहरु उनले गाउन सक्छिन् । भन्छिन्, ‘सबै प्रकारको गीत गाउन सक्छु । गाएकी पनि छु ।’

रेकर्डिङ र लाइभ गीतमा सजिलो कसमा हुन्छ भन्ने प्रश्नमा गायिका सुधाले भनिन्, ‘लाइभ गीत गाउँदा अलिक समस्या हुन्छ । दर्शकले सुनिरहनु भएको हुन्छ । विग्रियो भने समस्या हुन्छ । रेकर्डिङमा बिग्रियो भने पछि गाउन मिल्छ । लाइभमा त्यो सुविधा हुँदैन ।’ रेष्टुरेन्टमा गजल सुन्न आउने दर्शक स्रोताहरुले सबै प्रकारको गीत फरमाइस गर्ने उनको भनाइ छ ।

गायिका सुधालाई सुगम संगीत नै मन पर्छ । नेपालका अधिकांश गायक गायिकाहरु उनलाई राम्रो लाग्छ । हिन्दी गायक गायिकाहरु पनि उनका लागि मन पर्ने कलाकार हुन् । गीत संगीतको क्षेत्रमा आएका नयाँ पुस्ताका गायक गायिकाहरु राम्रो रहेको उनले बताइन् । ‘अहिले आउनु भएका भाई बहिनीहरुको स्वर राम्रो छ । गायनको स्टाइल पनि राम्रो छ । मलाई मन पर्छ’, सुधाले भनिन्, ‘गायन क्षेत्रमा समय र परिवेशलाई बुझेर लाग्नुपर्छ । दर्शक स्रोताको मन बुझेर गीत गाउनुपर्छ । होइन भने अगाडि बढ्ने चान्स कम हुन्छ ।’ आफू पनि दर्शक स्रोताहरुको बुझाइ र रोजाइलाई ध्यान दिएर गाउने गरेको उनी बताउँछिन् ।

गीत संगीतको क्षेत्रमा वितरण हुने पुरस्कारप्रति उनको धेरै सकारात्मक सोँचाइ छैन । च्याउ उम्रिए सरी वितरण हुने गीत संगीतको पुरस्कारले अस्वस्थ्य प्रतिस्पर्धा गराएको उनले बताइन् । ‘पुरस्कार वितरणमा राम्रालाई भन्दा पनि कार्यक्रमलाई स्पोन्सर गर्नेलाई दिने गरेको चर्चा सुनेकी छु’, गायिका सुधाले भनिन्, ‘पुरस्कार वितरणमा पनि सिण्डिकेट छ ।’ उनले गीत संगीतको पुरस्कार राम्रा व्यक्तिलाई दिनुपर्ने बताइन् । भन्छिन्, ‘राम्रो काम गर्ने व्यक्तिको पहिचान गरेर पुरस्कार दिइयो भने त्यसको सार्थकता हुन्छ । अन्यथा सबै कुरा आलोचनाभन्दा केही रहँदैन ।’

गायिका सुधा जिल्लामा हुने स्टेज कार्यक्रममा बेलाबेला जाने गरेकी छिन् । सालिन र भद्र स्वभावकी सुधाले कहिल्यै पनि आफ्नाका लागि पावर लगाएकी छैनन् । ‘कसैलाई पनि केही भन्ने गरेको छैन’, उनले भनिन्, ‘कुनै ठाउँमा भन्नु पनि पर्दो रहेछ ।’ आफ्नै पौरखले अगाडि बढ्न नयाँ गायक र गायिकाहरुलाई सुधाले सुझाव दिइन् । उनले भनिन्, ‘अहिलेका धेरै नयाँ कलाकारहरु क्षमताले आएका छन् । उनीहरुले अझै राम्रो गर्नुपर्छ ।’

समय रहँदा फिल्म पनि हेर्न उनले मन पराउँछिन् । घुम्नु उनको शोख पनि हो । गायनकै व्यस्तताले गर्दा धेरै घुम्न नपाएको उनले बताइन् । गायिका सुधाले भनिन्, ‘राति अबेलासम्म रेष्टुरेन्टमा गाउनुपर्छ । दिउँसो गायनको तयारी गर्नुपर्छ । समय धेरै हुँदैन । घुम्ने कुरा यत्तिकै भएको छ ।’

Comments

Top