जनताबाट दुई तिहाई समर्थनप्राप्त सरकारलाई चौतर्फी हमला : किन र कसरी गरिदै छ ?

ramesh khadkaa

 काठमाडौं । विगत लामो समय देखी लामो राजनैतिक उत्तरचढाप पश्चात देशमा जनताले आशा गरेको सरकार गठन भएको ६ महिना नै पुग्न नपाँउदै सरकारलाई चारैतर्फबाट घेराबन्दी सुरु भएको छ । यस्तो घेराबन्दी गर्ने कार्यमा अन्तराष्ट्रिय शक्ति केन्द्र लगायत देशका दलाल पुजिपतिहरु एवं तस्करीमा संलग्न व्यक्तिहरु दिन रात लागेको महशुस गर्न थालिएको छ । उनीहरु देशलाई समृद्ध र उन्नतिमा जान नदिई यथास्थितीमा अझ भनौ उधोगतीमा लैजान केन्द्रित  छन् ।

 जसका कारण आफुहरुले ब्रम्हलुट मच्चाउन सकियोस भन्ने तस्करीमा संलग्नहरु चाहन्छन भने अन्तराष्ट्रिय शक्तिकेन्द्रले कम्युनिष्ट सराकार सफल भएमा छिमेकी देश एवं अन्तराष्ट्रिय जगतमा कम्युनिष्टहरु जनताबाट अनुमोदित भई आउन सक्ने भएकोले त्यसलाई रोक्ने दिर्घकालिन योजनाका साथ लागिरहेका छन । पछिल्लो समयमा नेपाली राजनीति र पत्रकारिताको दुनियामा एक खालको विश्लेषण गरी सरकारको सफलता र असफलतासंग जोडेर व्याख्या गरिएको पाईन्छ।

 विशेष गरी लामो समय देखि सामाजिक विकृती, विसंगती र कुरितीको रूपमा रहेको महिला हिंशा र यो संगसंगै जोडिएर आउने जबर्जस्ती करणीजन्य अपराधहरूमा भएको बृदिलाई सरकारको असफलता हो भनी पुष्ट्याउन खोजिएको देखिन्छ । वास्तवमा सामाजिक अपराधलाई नियन्त्रण गरी सभ्य समाज निर्माण राज्यको दायित्व अन्तर्गत पर्ने कुरामा दुई मत हुन सक्दैन। तर, पछिल्लो समयमा देखिएको महिला हिंसा संगसंगै जबर्जस्ती करणीका घटनाहरूको पछाडिको वास्तविकता वस्तुनिष्ट ढंगले कुनै वयभाव नराखी विश्लेषण गरिनु जरूरत छ ।

 तव मात्र यस्ता घटनाहरूको वास्तविक कारण पहिचान गरी भविष्यमा त्यस्ता घटनाहरू नहुनवाट जोगिन सकिन्छ । जबर्जस्ती करणीका घटनाहरूलाई तथ्यगत अध्यन गर्ने हो भने विश्व समुदायमा भएका जबर्जस्ती करणीका घटनामा करिव ९०% को हाराहारीमा आफन्त वा चिनेजानेका व्यक्तीहरू संलग्न भएको देखिन्छ भने नेपालमा ८६% घटनामा नजिकका आफन्त तथा चिनेजानेका मानिसहरूको संलग्नता भएको पाईन्छ। जुन कुराले अपराधिक कार्यबिधिको एकरूपतालाई पुष्टि गर्दछ ।

 त्यस्ता खालका अपराधलाई नियन्त्रण गर्नको लागी अपराधीलाई कानुनको दायरामा ल्याउनु पर्ने कुरा जतिको महत्वपुर्ण छ ,त्यो भन्दा अझ महत्वपुर्ण पक्ष भनेको हाम्रो समाजमा भएका आपराधिक मनोवृत्तीलाई परिवर्तन गरिनु हो । यसको लागि समाजमा हरेक सामाजिक व्यक्तित्वहरूको भुमिका जरूरी छ । हामीले स्कुल शिक्षा देखि सामाजिक मुल्य र मान्यतालाई समेत समयानुकुल परिस्कृत गर्नुपर्ने आजको आवश्यकता हो ।

 यस्ता घटनाहरूको बृद्दी वर्तमानको सुरक्षा अवस्थाको कारणले मात्र सृजना नभएर बिगत लामो समय देखि नेपाली समाजमा विकसित हुदै आएको अपराधिक मनोवृत्तीको उपज हो भन्न सकिन्छ । किनभने अधिकाश महिला हिंशा तथा जबर्जस्ती करणीका घटनाहरूमा गरिवी, अशिक्षा, चेतनाको अभाव, महिलालाई हेर्ने दृष्टीकोण नै प्रमुख कारणहरू भएको देखिन्छ । पछिल्लो समयमा महिला हिंशा र जबर्जस्ती करणीका मुद्दाहरूमा उल्लेख्य वृद्दी हुनुमा सामाजिक जनचेतनाको स्तरमा आएको वृद्दीलाई पनि कारणको रूपमा व्याख्या गर्ने जानकारहरू भेटिन्छन् ।जुन कुरा सत्य पनि हो ।

 किनभने पछिल्लो समयमा नेपाली महिलाहरूले पनि खुलेर आफु बिरुद्द भएका दुर्व्यवहारलाई प्रहरीमा रिपोर्ट गरेको देखिन्छ जवकी पहिला-पहिला त्यस्ता घटनाहरूमा मिलोमत्तोमा पिडीत पिडकहरू विच समझदारि गराई रिपोर्टनै नभएको अवस्था हो जुन कुरालाई सकारात्मक लिनुपर्ने देखिन्छ । यसरी सामाजिक विकृतीकरणको विषयलाई लिएर राज्यको समग्र सुरक्षा व्यवस्था कमजोर भयो भनेर मुल्यांकन गरिनु कत्तिको तर्क संगत र न्यायोचित हुन्छ ?

जवकी यो सरकारका गृहमन्त्री राम बहादुर थापा जसले तस्करहरु र उनी हरुको संरक्षक बिरुद्ध समेत धावा बोल्दै गरे र त्यसको जालोलाई तोड्ने आँट र हिम्मत गरे । व्यबसायीहरु जसले सिन्डिकेट लागु गरी आफ्नो व्यवसायका नाममा जनतालाई सास्ती दिई धनोपार्जन गरी रहेका थिए।

 तिनिहरुका बिरुद्ध समेत धावा बोली व्यबसायको हडताल निस्तेज पारेर त्यस काममा अपराध र अपराधीका बिरुद्ध बिगत देखी नै कठोर बन्दै आएका प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले संगठनको सम्पुर्ण सामर्थ्य लगाएर सरकारका काम कारबाहीलाई जुन किसिमको साथ दिए, जसको फलस्वरूप समाजमा भएका गुण्डागर्दी र चन्दा असुली पुर्ण रूपमा निस्तेज भए । त्यसबाट तस्करीमा संलग्नहरु र दलाल पुजिपतीहरु एक हुन पुगे र उनीहरुले योजनाबद्ध रुपमा श्रृंखलाबद्ध तरिकाले समाजमा घटेका अपराधहरु जुन बिगतमा पनि  घट्थे,त्यस्ता घटनाहरुलाई अतिरन्जित रुपमा प्रचार गरिरहेका छन् ।

 अहिले ठुला ठुला मिडियाहरु समेत प्रयोग गरी एकाध अधिकारीबाट अनुसन्धानमा भएका कमि कमजोरीलाई उचाली मानौ यो सरकार अपराध बढाउन आएको हो, जसरी प्रचार गराई राम्रा काम गरी समाजलाई आशा जगाउन तल्लिन गृहमन्त्री र सरकारको आदेश र निर्देशन एवं कानुन कार्यान्वयन गर्ने सांगठनिक जिम्मेवारी प्राप्त गरेका प्रहरी संगठन र त्यस्का अधिकारीहरुलाई एकमुष्ट कमजोरर बनाई आफ्नो स्वार्थपुर्ति गर्नमा तल्लिन हुन खोजेको आभाष हुन थालेको छ ।

हो, कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने पासविक कार्यमा संलग्न एवं जोगाउन खोज्ने जो सुकैलाई पनि कानुनि कठघरामा उभ्याउनु पर्छ।
। यो घटनामा प्रहरीले आफ्ना सबै युनिट परिचालन गरि अनुसन्धान पनि गरिरहेको छ ।

 तर, त्यही केशलाई बढाई चढाई गरी दक्षिण एसियामै अनुसन्धानमा उत्कृष्ट देखिएको नेपाल प्रहरी संगठनलाई नै आक्षेप लाग्ने गरी अझ भनौ प्रहरी संगठनका सम्पुर्ण अधिकारी नै अपराध लुकाउन उद्धत छन भन्ने मनसायले मिडियामा समाचार अाइरहेका छन् । त्यस्तो कार्यले काबिल अफिसर जो जनताको सुरक्षा र अनुसन्धानमा दिन रात आफ्नो परिवार समेत नभनी खटिएका छन, तिनीहरुको मनोबल कता पुर्याएको छ होला ? के सम्पुर्ण प्रहरी अधिकारी नै त्यस्तै हुन त ? हो कन्चनपुरका एसपी दिल्लीराज बिष्ट र तत्कालिन अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले आफ्नो अनुसन्धान एवं पिडितको समस्या सुन्ने र बुझ्ने क्रममा कमि कमजोरी वा लापरबाही अवश्य गरेका छन । जसको कारण कन्चनपुर मात्र होईन देशैभरीका जनताले उक्त घटनालाई चासोका साथ हेरेका छन र आफ्नो अभियान बिभीन्न माध्यमबाट राखेका पनि छन ।

 तर, यसै घटनालाई लिएर प्रहरी संगठनकै बिरुद्धमा आक्षेप आउनु सरकारकै बिरुद्धमा सुनियोजित प्रहार हो र त्यसले समाजलाई कता लैजाला भनी हामीले ठण्डा दिमागले सोच्नु पर्छ । अपराध घटि सके पछी अपराध अनुसन्धान टुंगोमा पुग्न केही समय लाग्न पनि सक्छ । नेपाल प्रहरीले रानिबारी घटना १२ बर्ष लगाएर पनि पत्ता लगाएको यथार्थता हाम्रो सामुन्ने छ ।
अपराध र अपराधीको बिरुद्ध कठोर रुपमा प्रस्तुत भई आमजनताको नजरमा अब्बल छबी बनाएका हालका आइजीपी सर्बेन्द्र खनाल र सांगठनिक अपराध बिरुद्ध धावा बोली जनताको मन जितेर आशाको संचार जगाएका गृहमन्त्री रामबहादुर थापाले यस्ता अपराधमा संलग्न र लापरबाही गर्नेलाई धुलोमा मिलाउने छन भन्ने यो पंक्तीकारलाई पुर्ण बिश्वास छ र आम जनतालाई समेत यो बिश्वास छ भन्ने लाग्दछ ।

 त्यस्तो आपराधिक कार्यमा कोही सुनियोजित तरिकाले यो वा त्यो रुपमा लागेको छ भने नेपाली जनता त्यती लाटा र सोझा छैनन, त्यस्को डटेर मुकाबिला हुनेछ। र, राम्रो काम गर्नेहरुलाई गलत चार्ज लगाई बिदाई गरी आफु आउने कुत्सित ईच्छा राख्ने कोही भएमा त्यस्ताका गतिबिधी पनि नेपाली जनताले सहने छैनन ।

 तसर्थ, बाहिरी शक्ती र देशका बिचौलिया एवं दलालहरुको सुनियोजित प्रहारलाई रोकथाम गर्न बर्तमान प्रधानमन्त्री र नेकपाका अध्यक्षहरु लगायत कम्युनिष्ट पार्टिका पदाधिकारीहरुले समयमै बुझ्नु अहिलेको आबश्यकता हो । तसर्थ, दलालहरुका यस्ता योजना पुरा हुन दिई नेपाली जनतालाई पुरानै अध्यारो युगमा फर्काएमा तपाईहरु सबैलाई इतिहासले क्षमा दिने छैन, चेतना भया ।

 

Comments

Top