नेपालको लगातार चौथो जित, भुटान ३३ रनमा सिमित

nepal c

  काठमाडौं । नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार चौंथो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो चौंथो खेलमा नेपालले भुटानलाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको हो। १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो ।

भुटानलाई हराउने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक–एक विकट लिए । यसअघि मलेसियाको युकेएम क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ओपनर प्रदिप ऐरीको शानदार उत्कृष्ट पारीसँगै २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो ।

नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर विनोद भण्डारी पहिलो बलमै आउट भए, जतिबेला टिमको स्कार मात्र ६ रन थियो । तर, अनिलकुमार साहले प्रदिपसँग मिलेर पारी सम्हाले । दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका अनिल २७ रनमा आउट भए । आरिफ शेखले १३ रन जोडे । ऐरी ७५ र करण केसी ११ रनमा अविजित रहे । ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए ।

नेपालले यसअघि खेलेका तीन खेलमा जित निकालेको थियो। नेपालले गत बुधबार भएको पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा शनिबार आयोजक मलेसियालाई समान ८ विकेटले हराएको थियो। त्यस्तै तेस्रो खेलमा थाइल्याण्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो। जारी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा छ। नेपालले ४ खेलबाट ८ अंक बनाएको छ।

भुटानले भने ३ खेलबाट २ अंक जोडेको छ। प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन्। समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन्।

युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्। अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ। प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

Comments

Top