मन्त्रीलाई भिनाजु भन्दै सेनाको जुत्तामा नजर

bijayshrestha

 काठमाडौं। तत्कालीन प्रधानसेनापती राजेन्द्र क्षेत्रीको निगाहाले एकैचोटी ठेकेदार बनेका एक व्यक्तिले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भिनाजुको नाता लगाएर नेपाली सेनाको ठेक्का आफूले लिने कसरत गरिरहेका छन् । ती व्यक्ति हुन्, न्यू क्रियसन नामक संस्थाका संचालक विजय श्रेष्ठ ।

सेनाले ५० हजार थान डिएमएस बुटका लागि टेण्डर आह्वान गरेको छ । जसका लागि श्रेष्ठको क्रियसनसहित १२ वटा फर्मले आवेदन हालेका छन् । जसमा न्यूनतम प्रतिजोर १८ सयदेखि ३८ सयसम्मको दररेट हालेका छन् । तर, श्रेष्ठको फर्मले प्रतिजोर २४ सयमा दिने गरी कोटेशन हालेको छ । सो जुत्ता भारतमा प्रतिजोर १२ सय रुपैयामा तयार हुन्छ । स्रोतका अनुसार आवेदन हालेका १२ मध्ये श्रेष्ठको सहित सात वटा र्फमको आवश्यक मापदण्ड नै पुग्दैन । आवश्यक मापदण्ड नै नपुग्ने सो फर्मको लागि १० करोडको सो काम हत्याउन श्रेष्ठले मन्त्री पोखरलेललाई भिनाजुको नाता लगाएर अनावश्यक दबाब दिएको बुझिएको छ ।

स्रोतका अनुसार, श्रेष्ठ पहिले सेनापति निवास झम्सिखेलमा साबुन, सेम्पु सप्लाई गर्ने सानो ठेकेदारको काम गर्थे । राजेन्द्र क्षेत्री प्रधानसेनापति भएपछि उनले प्रधानसेनापति क्षेत्रीका छोरा अभिषेक र श्रीमती रिता कुँबर क्षेत्री मार्फत् पास्ट ट्याकको १९ करोडको ठक्का निगाहमा पाएका थिए । सेनाले खनिरहेको सो बाटोमा उनले ‘ग्याभिन वाल’ लगाउने काम लिएका थिए । उनै श्रेष्ठले अहिले मन्त्री पोखरेललाई नाता लगाएर प्रधानसेनापति पूर्णचन्द्र थापामाथि जुत्ताको टेण्डर आफ्नोमा पार्न घुँडा धसेर लागेको बुझिएको छ । अब एक दुइ दिनभित्रै उक्त टेण्डरको रिजल्ट निकाल्ने तयारी भइरहेको छ । ( बुधबार )

Comments

Top