संगठनको बद्ननाम गराउने प्रयास भइरहेको भन्दै आईजीपीको आपत्ति , हाछेथुको गरे प्रशंसा

igplalitpur

ललितपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यक्तिले गरेको गल्तीलाई लिएर संगठनकै मानमर्दन हुने गरी बोल्न नहुने वताएका छन् ।

 ललितपुर ट्राफिक प्रहरीको नयाँ भवन उद्घाटनका क्रममा आईजीपी खनालले कन्चनपुर घटनाप्रति इंगित गर्दै केही खराब व्यक्तिका कारण संगठनको बद्ननाम गराउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । 

प्रहरीमाथि अहिले हिलो छाप्ने काम भइरहेको भन्दै जनताले साथ दिनुपर्ने आईजीपी खनालले बताए । ‘प्रहरीमाथि हिलो छाप्ने काम भइरहेको छ’, उनले भने, ‘यसमा जनताले साथ दिनुपर्छ ।’

प्रहरीले कुनै पनि घटना नलुकाएको उनले बताए । ‘प्रहरीले कुनै पनि घटना लुकाउँदैन र लुकाउनुपर्ने कारण पनि छैन’, उनले भने, ‘किनकी प्रहरी भनेको जनताको हो ।’

उनले प्रहरी प्रशासनलाई पारदर्शी रूपमा काम गर्न पनि निर्देशन दिए । ‘प्रहरीले पारदर्शी भएर काम गर्नुपर्छ र यदि कोही पारदर्शी नभए तिनीहरूलाई पाखा लगाउनुपर्छ’, खनालको भनाइ छ ।

सो अबसरमा उनले ललितपुर ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुको प्रशंसा गरेका छन्।

 ललितपुर ट्राफिक प्रहरीको नयाँ भवन उद्घाटन गर्दै आईजीपी खनालले सबै प्रहरी अधिकृतहरुलाई हाछेथुले जस्तै काम गर्न निर्देशन दिए। ललितपुरमा हाछेतुको सक्रियतामा २ करोड १६ लाखको लगानीमा नयाँ ट्राफिक प्रहरी कार्यालय बनेको हो।  १ सय ९८ जना नागरिकको सहयोगमा उक्त भवन निर्माण भएको हो भने यसको पहल हाछेथुले गरेका थिए।

Comments

Top