नेपाल प्रहरीको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने–‘प्रहरी अझै व्यवसायिक बन्नैपर्छ।’

kp

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको प्रशंसा गरेका छन् । उनले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीको काम प्रशंसनीय रहेको बताए । नेपाल प्रहरी देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा भएको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गरेका हुन् ।

नेपाल प्रहरीको ६३औं स्थापना दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले अपराध अनुसन्धानमा नेपाल प्रहरीको सफलता ९० प्रतिशत रहेको भन्दै ओलीले कुनै विषयका असफलताले नकरात्मक असर पर्न जाने बताए ।

प्रहरीको साख रक्षाका लागि नेपाल प्रहरी थप व्यवसायिक हुन जरुरी रहेको औल्याउँदै प्रधानमन्त्री ओलीले भने–‘प्रहरीले ९० प्रतिशत अपराधी पत्ता लगाए पनि त्यो पर्याप्त होइन । साख जोगाउन नेपाल प्रहरी अझै व्यवसायिक बन्नैपर्छ।’

kp 2

बलात्कार, हिंसा, हत्याको नियन्त्रण तथा अनुसन्धानमा प्रहरीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न योगदान पुर्याएको भन्दै प्रशंसा गरे ।

‘गौरवशाली इतिहास निर्माण गरेको प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय छ । कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न पुर्याएको योगदानको म प्रशंसा गर्छु ।’

kp 1

संयुक्त राष्ट्र संघको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनाका लागि सञ्चालित मिसनमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाललाई स्थापित गराउन भूमिका खेलेको प्रधानमन्त्रीले बताए ।

शान्ति सुरक्षा र अमन चयन कायमका लागि प्रहरीको मनोबल बृद्धिमा जोड दिएका प्रधानमन्त्रीले यसका निम्ति सरकार प्रतिबद्ध रहेको जानकारी दिए । ठूलो राजनीतिक उथल पुथल र परिवर्तनपछि देश समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्ने अभियानमा रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले भने–‘यसका लागि शान्ति सुरक्षा पहिलो आवश्यकता हो । यसअर्थमा प्रहरी आगामी दिनमा थप जिम्मेवार सक्रिय हुनुपर्छ ।’

Comments

Top