नेपाली खाग तस्करविरुद्ध इन्टरपोलले जारी गर्‍यो ‘रेडकर्नर नोटिस’

Interpol

 काठमाडौं। गैँडाको पाँचवटा खागसहित पक्राउ परेर पनि चलखेलका आधारमा छुटेका एक कुख्यात नेपाली खाग तस्करविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले ‘रेडकर्नर नोटिस’ जारी गरेको छ । १४ वर्षदेखि फरार रहेका पेम्बा शेर्पाविरुद्ध नेपाल प्रहरीको सिफारिसमा रेड नोटिस जारी भएको हो ।

 स्रोतका अनुसार शेर्पा अमेरिकामा रहेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रेडकर्नर नोटिसको प्रक्रिया अघि बढाएको हो । पर्याप्त प्रमाण संकलन भएपछि इन्टरपोलले गत साता शेर्पाविरुद्ध नोटिस जारी गरेको हो ।
२९ असार ०६१ सालमा चितवनको आँपघारीमा निकुञ्जको सुरक्षामा खटिएको सैनिक टोलीले पेम्बा शेर्पा र दाबा लामालाई गैँडाको पाँचवटा खागसहित पक्राउ गर्‍यो । त्यसवेला नेपालमा संगठित रूपमा गैँडाको चोरी सिकारी बढेको थियो । एकैपटक पाँचवटा खाग बरामद हुनुलाई ठूलो उपलब्धिका रूपमा लिइयो । तर, पक्राउ परेलगत्तै उनीहरूलाई छुटाउन चलखेल भयो ।

पक्राउ परेलगत्तै तत्कालीन कर्णेल रमेशराज महतले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे । तर, थप अनुसन्धानमा चासो त दिइएन नै साथै उनीहरूलाई ४० दिनसम्म सेनाले गोप्य रूपमा थुनामा राख्यो जबकि सेनाले २४ घन्टाभित्रै धेरै समय राख्न पाउँदैनथ्यो । उनीहरूबाट बरामद भएको भिटेरा गाडीसमेत सैनिक अधिकारीहरू नै प्रयोग गरे ।

वन्यजन्तुसम्बन्धी मुद्दाको अनुसन्धान गर्ने निकाय निकुञ्ज र वन कार्यालय हो । तर, सेनाले लामो समयसम्म निकुञ्ज वा वन कार्यालयमा बुझाइएन । बरू सैनिक मुख्यालय पठाइयो । निकुञ्ज कार्यालयले पटक–पटक सोधखोज गर्दा पनि जानकारी दिइएन ।

सैनिक मुख्यालयले उनीहरूलाई जिल्ला वन कार्यालय काठमाडौं बुझायो । गैँडाको चोरीसिकारी मुद्दामा १५ वर्षसम्म कैद सजाय हुने मुद्दामा काठमाडौंका तत्कालीन डिएफओ कमलभक्त श्रेष्ठले दुवैलाई एक÷एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए जबकि बरामदमध्ये चारवटा गैँडाको खाग सक्कली भएको रिपोर्ट आइसकेको थियो ।

डिएफओ श्रेष्ठले बरामद भएको गाडीसमेत फिर्ता दिने आदेश दिएका थिए, जुन आदेश निकै विवादमा तानियो । त्यसमा चलखेलको आशंका गरिएको थियो ।( नयाँ पत्रीका )

Comments

Top