शशांक र सिंहलार्इ साथमा लिएर पौडेल पक्षको भेला

ramchandra, sashank and prakashman

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र दिन प्रतिदिन विवाद चुलिदै गएको छ । सरकारले गरेका काम कारबाहीको मूल्यांकन गरेर जनताको हितमा काम गर्नु पर्ने प्रमुख प्रतिपक्षी दलभित्रै किचोलो बढिरहँदा कांग्रेसले पनि सोचे अनुरुप काम गर्न सकेको छैन । दुई तिहाई बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसकेर जनतासँगको सम्बन्ध टाढिदै गएको अवस्थामा कांग्रेसले पनि आफूलाई अगाडि बढाउने सकेको छैन ।

बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताद्धय कृष्णप्रसाद सिटौला, प्रमाशमान सिंहलगायतले आ–आफ्नै गुट चलाउँदा कांग्रेसले गति लिन नसकेकोको कांग्रेसकै नेताहरु स्वीकार्छन् ।

स्रोतका अनुसार आज पनि पार्टीमा आफ्नो समूहको भावी रणनीति तय गर्नका लागि वरिष्ठ नेता पौडेल समूहका शिर्ष नेताहरुको बैठक बसिरहेको छ। महामन्त्री डा शंशाक कोइरालाको संयोजनमा महाराजगञ्जमा बैठक बसिररहेको बताइएको छ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, प्रकाशमान सिंह, डा रामशरण महत, नविन्द्रराज जोशी, धनराज गुरुङ, दिलबहादुर घर्तीलगायतका नेताहरु सहभागी छन्। पार्टीका समूहलाई संयोजन गर्ने भूमिकामा देखिँदै आएका नेता अर्जुननरसिंह केसी पनि बैठकमा उपस्थित छन्।

नेविसंघको विधानलाई पार्टीले अनुमोदन गर्ने क्रममा केन्द्रीय समितिमा विवाद भएसँगै पार्टीमा थप ध्रुविकरण सुरु भएको छ। संस्थापन पक्षले बहुमतको आधारमा उमेर हद कायम गरेपछि चार शिर्ष नेताले फरक मत राखेका थिए। गत बिहीबारको लागि डाकिएको केन्द्रीय समितिको बैठकलाई संस्थापन इतर समूहले बहिष्कार गर्ने चेतावनी दिएपछि अनिश्चित कालको लागि बैठक स्थगन गरिएको छ।

Comments

Top