चिकित्सकको सल्लाह विपरित बैठकमा जाँदै प्रधानमन्त्री

kp sharma

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । प्रधान‍नमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार उनको स्वास्थ्यस्थितिमा शनिबारको तुलनामा आइतबार सुधार देखिएको हो । शर्माले मौसमी रूघाखोकी र हल्का ज्वरो देखिएपछि प्रधानमन्त्रीलाई भेटघाट, बैठक र भीडभाडभन्दा टाढा रहन सल्लाह दिएका थिए । उपचारमा सलग्न चिकित्सकले उनलाई थप तीन दिन औषधी सेवनसंगै निवासमै आराम गर्न सल्लाह दिएका छन्।

तर, प्रधानमन्त्री भने आजको मन्त्रीपरिषद् बैठकमा सहभागी हुने भएका छन् । शुक्रबार नै बस्ने भनेको बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण सरेको हुँदा प्रधानमन्त्री आजको बैठक पनि सार्न चाहँदैनन् । बैठकमा सहभागि हुँदा नियमित कामहरु सुचारु हुने भन्दै प्रधानमन्त्री चिकित्सकले आराम गर्न सल्लाह दिंदा पनि बैठकमा जाने तयारीमा रहेका छन् ।

दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका चाडपर्वका उपलक्ष्यमा नेकपाले शनिवार आयोजना गरेको चियापानमा प्रधानमन्त्री ओली उपस्थित भएनन्। चिकित्सकका अनुसार हाल प्रधानमन्त्री ओलीलाई एउटा साधारण एन्टिवायोटिक र रूघाखोकीको औषधी दिइएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार प्रेस नोट जारी गरी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएकाले आइतबार मन्त्रिपरिषद बैठकमा सहभागी हुने जानकारी दिएका हुन् ।आइतबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै मन्त्रिपरिषद बैठक बोलाइएको छ । यसअघि प्रधानमन्त्रीको अस्वस्थताका कारण शुक्रबार मन्त्रिपरिषद बैठक स्थगित गरिएको छ ।

 

Comments

Top