गौचन हत्याका सुटरको खुलासा: समिरमानकी श्रीमतीले पेस्तोल र पैसा उपलब्ध गराउँथिन्

gauchanhatya

 काठमाडौं। महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचन हत्याका मुख्य सुटरहरुलाई पक्राउ गरेसंगै एक हाइप्रोफाइल व्यक्तिको हत्या हाललाई टरेको प्रहरीले दाबी गरेको छ । महाशाखाको विशेष टोलीले २०७४ साल असोज २३ गते नयाँ बानेश्वरस्थित ठूलो खरिबोट नजिक गौचनमाथि गोली प्रहार गरि फरार भएका तीन अभियुक्तलाई पक्राउ गरेको हो ।

 महाशाखाले गौचनमाथि गोली प्रहार गरी फरार भएका सुटरहरु अम्बरबहादुर राना,लोप्साङ लामा र रोशन बुढाथोकीलाई काँकरभिट्टा आसपासबाट पक्राउ गरेको दाबी गरेको छ । गौचन हत्याका मुख्य नाइके एबम योजनाकार समिरमान बस्नेतलाई भने गत बर्ष प्रहरीकै सेटिङमा भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।

 पक्राउ परेका सुटर अम्बरबहादुर रानाले आफुले गौचनमाथि समिरमान बस्नेतको निर्देशनमा गोली चलाएको स्विकार गरेका छन् । तीन गोली काण्डमा संलग्न नेपाली सेनाका भगौडा सिपाही रानाले समिरमानकी श्रीमती माया शेरचनको नाम पोलेपछि उनी पनि अनुसन्धानको घेरामा परेकी छन्। उनलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गर्न लागेको महाशाखा स्रोतको भनाइ छ। \

 प्रहरी अनुसन्धानका क्रममा गौचन हत्यापछि भारतका बिभिन्न स्थानमा लुकेर बसेका उनीहरुलाई मायाले हुण्डी गरेर पैसा पठाउने गरेको खुलेको छ। मुख्य सुटर अम्बरबहादुर रानाका अनुसार काभ्रेली गुण्डा नाइके दाबा लामालाई गोली हाने लगत्तै उनले मायालाई हतियार राख्न दिएका थिए भने गौचनलाई हानेको पेस्तोल पनि मायाले नै उपलब्ध गराएकी थिइन।

 त्यस्तै, रुपन्देहीमा युवा संघका अध्यक्ष दुर्गा तिवारीमाथि आक्रमण गर्दा समिरमानले लोप्साङलाई पेस्तोल उपलब्ध गराएका थिए। प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी 'चरी'माथि काठमाडौंको नैकापमा भएको आक्रमणमा पनि रानाले गोली चलाएको स्विकार गरेका छन्।

 रानाका अनुसार समिरमानले सुरुमा महाराजगन्जका गुण्डा नाइके मिलन चक्रेलाई आक्रमणको तारो बनाएका थिए भने काजी शेर्पालाई पनि निशानामा राखेका थिए। तर, बिभिन्न कारणले यो सम्भव हुन नसकेपछि गुण्डा नाइके दाबा लामालाई तार्गेट बनाइएको थियो। यसरी गुण्डा, ठेकेदार र व्यापारीको हत्या वा आक्रमण गर्नुको उद्देश्य भनेको अपराधको सन्जाल फैलाई फिरौती असुल्नु नै रहेको प्रहरीको अनुमान छ। 

 केही समय अगाडि एक हाइ प्रोफाइल व्यापारीको हत्या योजना बनाएको सुराकी पाएपछि गृह मन्त्रालयले समिरमानलाई नक्खु कारागारबाट मुस्ताङ सरुवा गर्न केन्द्रिय कारागार बिभागलाई निर्देशन दिएको थियो। त्यसलगत्तै समिरमानकी श्रीमती र उनका दाजुले प्रहरीले इन्काउन्टर गर्न लागेको भन्दै पत्रकार सम्मेलन गरी अफवाह फैलाएर मानव अधिकार आयोगमा उजुरी दिएका थिए।

 समिरमानकी श्रीमती मायाले आफ्नो गल्ती ढाकछोप गर्न समिरमानमाथि इन्काउन्टर गरिन लागेको भन्दै मिडिया र मानब अधिकार आयोगलाई दुरुपयोग गरेर घटनालाई अन्यत्रै मोड्न खोजेको अहिले आएर पुष्टि भएको महाशाखाका एक अधिकारी वताउँछन् । समिरमान हाल भने केन्द्रिय कारागारमा छन्। गौचनको हत्यामा संलग्न ३ जना यि ‘कन्ट्रयाक्ट किलर’ पक्राउ परेसँगै एक हाइप्रोफाइल व्यक्तिको हत्या हाललाई टरेको प्रहरीले दाबी गरेको छ । समिरमानको समुहमा संलग्न अझै दुई जना सुटर फरार छन् । प्रहरीका अनुसार हत्या र आक्रमणको योजनामा हतियार व्यवस्थापकको रुपमा काम गर्ने बोका भनिने गंगा लिङ्देन र अजय थापा फरार रहेका हुन् ।

Comments

Top