पर्वत पुगेर आईजीपी खनालले भने - मेरो स्वार्थ भनेकै प्रहरीलाई राम्रो र सक्षम बनाउनु हो

parbatigp

 काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही खराब प्रहरीका कारण संगठनका राम्रा प्रहरीले पनि सास्ती बेहोर्नुपरेको वताएका छन्। आईतवार पर्वत जिल्ला प्रहरी कार्यालयको निरीक्षणका क्रममा आईजीपी खनालले त्यस्ता खराब प्रहरीलाई आन्तरिक शुद्धिकरणमार्फत कारवाही थालिएको वताउंदै प्रहरी संगठनको मूल्य र मान्यतामा बसेर जनसेवा गर्न पनि निर्देशन दिएका छन् ।

 आइजीपी खनालले प्रहरी कर्मचारीले निष्ठा र ईमान्दारीपुर्वक समाजको सेवा गर्नु पर्ने कुरामा जोड दिए। मानिसले विना पारिश्रमिक समाजसेवा गरिरहेको कुरालाई उल्लेख गर्दै आइजीपी खनालले प्रहरी संगठनले हामी प्रहरी कर्मचारीलाई जीवनयापन,ईज्जत, प्रतिष्ठा मात्र दिएको नभई हाम्रो भविष्य पनि सुरक्षित पारेको हुँदा हामीले समाजमा प्रहरीको छवी उच्च पार्न आफ्नो चालचलन, व्यवहारमा सुधार गर्नुपर्ने, मानव अधिकारको उच्च सम्मान गर्नुपर्ने र व्यवसायिक निष्ठालाई उच्च राख्नुपर्ने कुरालाई विशेष जोड दिएका थिए

 । आफू प्रहरी महानिरीक्षक भइसकेपछि आफ्नो एकमात्र स्वार्थ भनेको प्रहरीलाई राम्रो र सक्षम पार्नु रहेको बताउँदै प्रहरी राम्रो हुँदा समाजका खराब तत्वहरुलाई असर पर्ने र तिनीहरुले संगठनका बिरुद्द छवी धमिल्याउन विविध किसिमका दुस्प्रयास गर्ने गरेको पनि आइजीपी खनालले बताए। आफु आइजीपी भईसकेपछि प्रहरी ‍जवानदेखी प्रहरी नायब महानिरीक्षक सम्मको जाम भएको बढुवा सुचारु गरेको, प्रहरीलाई स्केलको सामान गुणस्तरीय र समयमा प्रदान गरेको, प्रहरीलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराएको साथै प्रहरी कार्यालय, परिसर, ब्यारेक, भान्सा तथा शौचालयलाई स्तरीय बनाउन जोड दिएको कुरा पनि स्मरण गरेका थिए।

 संगठनबाट प्रदान भएका स्रोत साधनको समुचित प्रयोग हुनुपर्नेमा जोड दिंदै संगठनको हितमा त्यस्ता श्रोत साधन खर्चिनुपर्ने कुरामा उनको जोड रहेको थियो। आइजीपी खनालले प्रहरीमा गैरव्यवसायिक र खराब आचारण भएकाहरुलाई कुनै स्थान नभएको र त्यस्ता कर्मचारी संगठनका किरा, धमिरा भएको बताउँदै त्यस्तालाई टिपेर फाल्नुपर्ने कुरामा जोड दिएका थिए।आइजीपी खनालले जनताको सुरक्षाको जिम्मेवारी काँधमा बोकेको प्रहरीले कुनै पनि गल्ती गर्नै नहुने पनि जिकिर गरे।

Comments

Top