प्रधानमन्त्रीलाई सचिवको ठाडो प्रश्न

krishnadev

 काठमाडौं । बहुचर्चित दुईवटा वाइड बडी विमान घोटलाको बारेमा प्रधानमन्त्री कार्यालयभित्रै चर्काचर्की चल्न थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले प्रधानमन्त्री केपी ओलीलाई वाइड बडी विमानलाई ट्याक्सी किनेर चलाए जस्तो सजिलो रुपमा नलिन भन्दै मुखमुखै लागेका हुन् ।

 सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हालै सम्पन्न समीक्षा बैठकमा पर्यटन मन्त्रालयका सचिव देवकोटाले वाइड बडी चलाउनका निश्चित प्रक्रिया रहने भन्दै ओलीलाई ठाडो जवाफ दिएका थिए ।
सचिव देवकोटाको जवाफ सुनेपछि प्रधानमन्त्री ओली भने रिसले चुर भएर जवाफ नै नदि बसेका थिए ।

 स्रोतका अनुसार ओलीले देवकोटालाई तत्काल केही नभने पनि ट्याक्सीको कुरा भने नोटिस गरेका थिए । ‘प्रधानमन्त्रीज्यू ट्याक्सी किनेर चलाए जस्तो वाइड बडी विमान चलाउने कुरा हुँदैन’, सचिव देवकोटाले ओलीलाई दिएको जवाफ उदृत गर्दै स्रोतले भन्यो, ‘घाटा भयो भन्दैमा ट्याक्सी चलाए जस्तो चलाउन मिल्दैन ।

 प्रक्रिया मिलाएर चलाउँदा समय लाग्छ ।’ वाइड बडी विमान खरिदमा महालेखा परीक्षकको कार्यालयले साढे छ अर्ब घाटाला भएको भनिरहेका बेला पर्यटन मन्त्रालयकै सचिव देवकोटाले राखेको अभिव्यक्तिले ओली रिसले मुरमुरिएको स्रोतले जनाएको छ ।
यता, पर्यटनमन्त्री रविन्द्र अधिकारीले सचिव देवकोटालाई हटाउन पटक–पटक पहल गरेका छन् । आफ्नै रुचिमा ल्याइएका सचिव देवकोटालाई अधिकारीले हटाउन सकिरहेका छैनन् । देवकोटा पूर्वएमाले निकटका सचिव हुन् । कास्की जिल्ला निवासी देवकोटालाई चलाउँदा अर्को चुनावमा समस्या हुने भनेरै मन्त्री अधिकारीले सबै कुरा सहेर राखेको जनाइएको छ ।

 प्रधानमन्त्री ओलीसँग ठाडै मुखमुखै लाग्ने सचिव देवकोटाले मन्त्री अधिकारीलाई कतिसम्म ज्यादती गरेका होलान् ? अनुमान गर्न कठिन भएको छ । मन्त्री अधिकारी र सचिव देवकोटाबीच मन्त्रालयमा कुरा नमिल्ने गरेको स्रोतले जनाएको छ । (यूनाइटेड पोस्ट साप्ताहिक)

Comments

Top