क्रिस्चियन धर्मप्रचारक संस्थाको कार्यक्रममा ५५ लाख खर्च, ३५ सय सुरक्षाकर्मी परिचालन

krishyian

 काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि सोमबारसम्म चल्ने एसिया प्यासिफिक समिटको आयोजक युनिभर्सल पिस फेडेरेसन क्रिस्चियन धर्मप्रचारक संस्था हो ।

सन् २००५ मा कोरियाका धार्मिक नेता सन म्युङ मुनले यो संस्था स्थापना गरेका थिए । व्यापारमा समेत संलग्न उनले दशकौँदेखि धर्म प्रचार गर्दै आएका थिए ।

तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले दुर्नाम वाटरगेट काण्डपछि राजीनामा दिने अवस्था आएपछि अमेरिकी चर्चका सदस्यहरू जम्मा गरेर मुनले वासिङ्टन डिसीमा तीन दिन धर्ना दिएका थिए । त्यसबापत उनले निक्सनबाट धन्यवाद पाएका थिए । ९२ वर्षको उमेरमा सन् २०१२ मा मुनको निधन भएको हो ।

सन् २००५ मै यो संस्था नेपाल आइपुगेको हो । नेपालका संस्थापक अध्यक्ष सुरेशराज आचार्य थिए भने अहिले एकनाथ ढकाल अध्यक्ष छन् । परिवार दलबाट दुवै संविधानसभामा प्रतिनिधित्व गरेका ढकाल मन्त्रीसमेत भएका थिए ।

यसपालिको संसदीय निर्वाचनअघि तत्कालीन एमालेमा पार्टी नै विलय गराएका उनको नाम समानुपातिक सूचीमा थियो । तर, महिला र जनजाति प्रतिनिधित्व गराउनैपर्ने एमालेको बाध्यताले ढकाल सांसद हुन पाएनन् ।

सांसद नभए पनि उनले यसपालि पनि राजनीतिक शक्ति देखाएका छन् । उनले सरकारी संयन्त्र प्रयोग गरेर विदेशी राष्ट्रप्रमुख तथा सरकारप्रमुखको लाइन लगाइदिएका छन् । उनको धर्मप्रचारक संस्थाले गरेको कार्यक्रममा भाग लिन आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन सीधै प्रधानमन्त्रीको निमन्त्रणामा आएको पुष्टि भएको छ ।

त्यस्तै, अन्य नेताहरूलाई पनि राज्यको तर्फबाट आमन्त्रण गरिएको छ । यो सम्मेलनको खर्चको यकिन विवरण छैन । सम्मेलनका प्रेस संयोजक विष्णु निश्चलले १८ देखि २० करोड खर्च हुने बताए । सरकारको करिब ५५ लाख खर्च हुने सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।

सम्मेलनका पाहुनाको सुरक्षामा करिब ३५ सय सुरक्षाकर्मी खटिएका छन् । चार घेराको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्दै छ । सेनाले नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्नेछ । सुरक्षा व्यवस्था बिमस्टेककै सरह हुनेछ । ‘एउटा पर्यटक आउँदा त सुरक्षा दिनुपर्छ भने भिआइपीलाई सुरक्षा दिने, सम्मान गर्ने कुरा सामान्य हो,’ सञ्चारमन्त्री बाँस्कोटाको भनाइ छ । (नयाँ पत्रिका)

 

Comments

Top