जलरङ्गमा विश्वका चित्र

 


     images

काठमाडौँ, ःविश्वका ३८ देशका कलाकार जलरङ्गमा चित्र उतार्न काठमाडौँमा भेला भएका छन् । मन्दिरै मन्दिरको शहर भनेर चिनिएको काठमाडौँ र सिद्धार्थ गौतमबुद्धको जन्मथलो लुम्बिनीमा बसेर चित्र कोर्ने चाहनाका साथ चित्रकार यहाँ आइपुगेका हुन् ।

अमेरिकाकी चित्रकार मिनी भ्यालेरोले एउटा सुन्दर बगैँचामा युगल जोडीको तस्वीर उतार्नुभयो । माया रङ्गीचङ्गी र विश्वव्यापी उस्तै हुने भएकाले यसैलाई चित्रमा उतारेको बताउँदै भ्यालोरोले भन्नुभयो, “माया अन्त हुँदैन, मुटुभित्र हुन्छ, विश्वव्यापी हुन्छ ।” सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सव तथा बृहत् चित्रकला प्रदर्शनीमा दर्शकसामु नै उहाँले उक्त चित्र बनाउनुभएको थियो । कलाकारले चित्र कोर्दै गर्दा आगन्तुकले चाख लगाएर हेरेका थिए ।

स्पेन घुम्न गएका बेला भारतका चित्रकार अमित कपुरको मस्तिष्कमा एउटा दृश्य कैद भयो । महोत्सवमा त्यही दृश्यलाई जलरङ्गले रङ्ग्याउँदै उहाँले क्यानभासमा राख्नुभयो । “कलाको जात, रङ्ग केही हुँदैन,” कपुरले भन्नुभयो, “कलाले विश्वलाई एकीकृत गर्न मद्दत गर्छ त्यसका लागि महोत्सव महत्वपूर्ण अवसर हो ।”

दोस्रो पटक नेपाल आउनुभएका बङ्गलादेशका मोहम्मद कौसर हुसेनले आफू जन्मेको गाउँ चित्रमा उतार्नुभयो । नेपाल आएर संस्कृति साटासाट गर्ने अवसर मिलेकामा खुशी भएका हुसेनलाई कार्यक्रमबाट नेपालको कला पर्यटनमा टेवा पुग्ने विश्वास छ । उहाँहरुसँगै मङ्गोलियाका मुङ्कु गुगुले पनि नजिकै बसेको चिलसहितको एक स्थानीयवासीको चित्र दुरुस्त बनाउनुभयो । यसरी चित्र कोर्न अष्ट्रेलिया, अल्वानीया, बेलायत, चीन, जर्मनीलगायत देशका कलाकारसमेत आएका छन् । उनीहरुलाई नेपाली कलाकारले साथ दिएका छन् ।

जलरङ्ग पारदर्शी हुन्छ । तेल, रङ्ग र एक्रेलिकभन्दा निक्कै भिन्दै । पानीरङ्गबाट दुरुस्त दृश्य उतार्नुलाई कलाकारको क्षमता मानिन्छ । चित्रकार विनोदकुमार गुप्ता भन्नुहुन्छ, “जलरङ्ग चलाउन र रङ्गको मात्रा मिलाउन समय लाग्छ, दिमागभित्रै पेन्टिङ सेट भयो भने मात्रै सकिन्छ ।” त्यसैले यस्ता महोत्सवले सिक्ने र सिकाउने अवसर दिने उहाँको भनाइ छ । जहिले पनि यो प्रकृतिको नजीक हुने भएकाले नयाँ कलाकारलाई राखेर प्रकृतिको माझमा चित्र कोर्ने काम हुन्छ । त्यही भएर गुप्ताले २०७२ मा गएको भूकम्पअघि स्वयम्भूबाट देखिएको धरहरासहितको काठमाडौँ उपत्यकाको दृश्य चित्रमा देखाउनुभयो ।

अहिले जति पनि कलाकार छन् उनीहरुले पहिलो जलरङ्गबाटै सिक्ने भएकाले पनि यसको छुट्टै महत्व छ भन्नुहुन्छ अग्रज कलाकार केके कर्माचार्य । जानिसकेपछि जलरङ्ग छाडेर अन्य रङ्गमा रमाउने गरेकाले महत्वपूर्ण भएर पनि यसको महत्व घटेको उहाँको भनाइ छ । नेपाली चित्रकार डि बरालले विश्व संरक्षण सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको दृश्य चित्रमा उतार्नुभएको छ । कलाकार केशवराज खनालले चन्द्रागिरिबाट देखिएको काठमाडौँ र डिराम पाल्पालीले बानियाटार कोर्नुभयो । सुरेश स्याङतानले धार्मिकस्थल पशुपति क्षेत्रको दृश्य कैद गर्नुभयो ।

यस्तै विभिन्न देशका २७० भन्दा बढी चित्रको प्रदर्शनी अहिले नेपाल कला परिषद्मा चलिरहेको छ । उनीहरुले कोरेका चित्र विभिन्न स्कूलका विद्यार्थीले चाखपूर्वक अवलोकन गर्ने गरेका छन् । कतै संस्कृति, कतै धार्मिक क्षेत्र, कतै मायाप्रेम त कतै प्रकृति कलाकारका चित्रमा उनिएका छन् । विश्वका फरक–फरक संस्कृति र फरक–फरक विषयका दृश्य आफैँमा सुन्दरमात्रै नभएर सम्बन्धको सेतु बन्न पुगेको छ । कला समिक्षक रमेक खनाल कलाकार हरेक देशको राजदूत भएको बताउनुहुन्छ । “फरक–फरक देशका विषय एकै ठाउँमा बसेर हेर्न र बुझ्न पाउनु अनुपम संयोग हो,” उहाँले भन्नुभयो । सम्बन्धको विकास र पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रम फलदायी हुने उहाँको विश्वास छ । नेपाल भ्रमण वर्ष सन् २०२० आउनै लागेका बेला आएका विदेशी कलाकारमार्फत नेपालको संस्कृति, कलाकृति र पर्यटकीय क्षेत्र चित्रमार्फत विश्वभरि पुग्ने भएकाले भ्रमण वर्षका लागि कार्यक्रम सहयोगी हुने विश्वास गरिएको छ । (रासस)

 

Comments

Top