भारतीय आपराधिक समुह र प्रहरीबीच सुनसरीमा गोली हानाहान, एक लुटेराको मृत्यु

pestol

 सुनसरी । शान्ति सुरक्षा र चोरी डकैती नियन्त्रणको लागी खटिएको प्रहरीलाई लक्षित गरी गोली प्रहार भएपछि प्रहरीको जवाफी कारवाहीमा एकजनाको ज्यान गएको छ ।प्रहरीको गोली लाग्ने भारतीय अपराधी रहेको र उक्त समुह सुनसरीको कोशी गाउँपालिका –७ मुसहरी टोलमा डकैती गर्न आएको समेत खुलेको छ ।
आइतबार राति १० बजे ५–६ जनाको समूहमा आएका ब्यक्तिहरुले गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

डकैती गर्न आएको समूहको अन्दाजी ३०–३५ वर्षका एकजना पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

अन्य व्यक्तिहरू भने भारतीय सीमातर्फ भागेको र घटनास्थलबाट दुईवटा हतियार गोली लोड भएको अवस्थामा बरामद भएको उनले बताए ।

घटनाको अनुसन्धान भैरहेको उनले जानकारी दिए । भारततर्फबाट उनीहरू आपराधिक क्रियाकलाप गर्नका लागि नेपालतर्फ आएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Comments

Top