आर्थिक सुशासन र मितव्ययीता हाम्रो प्राथमिकता

bashudev thapa

    बासुदेव थापा, नगर प्रमुख – सूर्यविनायक नगरपालिका

भक्तपुर जिल्लाका धार्मिक पर्यटकीय स्थलमध्ये अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातीप्राप्त स्थल हो डोलेश्वर मन्दिर । केदारनाथको शिर भनेर चिनिएको डोलेश्वर मन्दिर भक्तपुरको सूर्यविनायक नगरपालिकामा अवस्थित छ । मठ मन्दिरले भरिपूर्ण सूर्यविनायक नगरपालिकामा प्राणि उद्यान केन्द्रको प्रस्ताव आएसँगै नगरबासीहरु समेत हर्सित भएको बताउनुहुन्छ नगरपालिका प्रमुख बासुदेव थापा । त्यसैले पनि नगर प्रमुख थापाले आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवद्र्धनका लागि भरपुर प्रयास गरिरहनु भएको छ ।
पछिल्लो समय नगरपालिकामा आर्थिक हिनमिना भएको समाचारलाई भ्रम फैलाउने खालको झुटो सामाचार प्रकाशित भएको भन्दै उहाँ गलत गर्ने जो कोहीलाई पनि उम्कन नदिने दावी गर्नुहुन्छ । जनतालाई सरल र सहज तरिकाले छिटो सेवा दिने आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै थापाले नगरपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवा र सुविधाको बारेमा जानकारी अनलाइन प्रविधिबाट प्रदान गर्न लागिएको पनि बताउनु भयो । सूर्यविनायक नगरपालिका मेयर थापासँग स्थानीय तहको निर्वाचनमा विजयी भएर डेढ वर्षको अवधिमा उहाँले गर्नुभएका काम र निर्वाचनको समयमा जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न बनाएका योजनालगायतका विषयमा mynewsnepal.com का लागि कुमार भण्डारीले गरेको कुराकानी :

० नगर प्रमुखमा निर्वाचित भएसँगै निष्ठाको राजनीति गर्छु भनेर पद वहाली गर्नुभएको तपाईले नगरपालिकामा के–के गर्नुभयो राम्रा कामहरु ?
– झण्डै दुई दशकपछि स्थानीय तहको निर्वाचन भएको हुँदा जनताले जनप्रनिनिधिसँग केही आशा गर्नु स्वभाविकै हो । जनप्रतिनिधि नहुँदा जनताले भनेको समयमा कुनै पनि काम हुन नसकेको अवस्था तपाई हामीले भोग्दै आएकै थियौं । जुन, जनगुनासो मसँग पनि नआएका होइनन् । आफूले मत हालेर जिताएको जनप्रतिनिधि आएपछि उहाँहरुले ठूलो आकांक्षा राख्नु भएको थियो । हामीले जनताको मागलाई पूरा गर्छौं भनेर घोषणा र प्रतिवद्धता पत्रमा उल्लेख गरेका पनि थियौं ।

तर, हामीले पहिलो वर्ष खासै ठूला योजनाहरु पूरा गर्न सकेनौं । टुक्रे योजनाहरु पूरा गर्नुपर्ने बाध्यता हामीमाझ थियो । धेरै ठाउँबाट बजेट माग हुँदा ठूला योजना गर्न सकेनौं । त्यसैले हामीले सम्पूर्ण वडामा दुई÷दुई करोड वजेटको हाराहारीमा टुक्रे योजनाहरु कार्यान्वयन ग¥यौं । जसमध्ये धेरै योजनाहरु सम्पन्न भइसकेका छन् भने केही योजना सुचारु छन् । चार वर्षभित्रमा सूर्यविनायक नगरपालिकामा चारवटा ठूला आयोजना सम्पन्न गर्ने लक्ष्य लिएका छौं । खानेपानी, ढल निकास, करीडोर निर्माण, भौतिक संरचानाको निर्माण, पर्यटकीय गन्तव्यको स्तरोन्नती, सडक निर्माणलगायतका कामहरु भइरहेका छन् । टेण्डर प्रक्रियाबाट काम हुने भएकाले सोचे जसरी काम गर्न सकिनेमा म ढुक्क छु ।

० नगरपालिका भित्र के–कस्ता विकासका योजनाहरु चलिरहेका छन् ?
– म आएपछि मैले धेरै नै विकासका योजनाहरु अगाडि सारेको छु । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनमा नै मेरो ध्यान केन्द्रित छ । सामुदायीक विद्यालयहरुमा शैक्षिक गुणस्तर खस्केको आवाज उठिरहेका बेला अहिलेको अवश्यकतालाई मध्यनजर गर्दै मैले त्यस्ता विद्यालयहरुलाई नीजि विद्यालयसरह बनाउन अंग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था मिलाएको छु ।

त्यसैगरी पहिलो चरणमा नै मेलम्ची खानेपानी सूर्यविनायकबासीलाई खुवाउन पनि प्रयास गरिरहेको छु । विशेषतः धार्मिक पर्यटकीय दृष्टिकोणले सम्पन्न सूर्यविनायक नगरपालिकामा आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनका लागि नगरपालिका विशेष कार्ययोजना बढाएर अगाडि बढिरहेको छ ।
त्यस्तै सूर्यविनायक नगरपालिका अन्तर्गत महेन्द्र शान्ति विद्यालयदेखि चित्रपुरसम्मको सडकको स्तरोन्नती गर्ने काम सम्पन्न भएको छ । सडकको स्तरोन्नती र विस्तारका लागि ३ नम्वर वडा बाहेक अन्य वडामा टेण्डर प्रक्रिया पूरा भइसकेका छन् । सडक निर्माण, भौतिक पूर्वाधार निर्माण, खानेपानीको व्यवस्था, तीनवटा पक्की पुल निर्माणलगायतका कामहरु भइरहेका छन् ।

० तपाईले नगरबासीको चाहना अनुसार काम गरिरहनु भएको छ ?
– जनअपेक्षा अनुसार नै मैले काम गर्दै आएको छु । हाम्रो पहिलो प्रथामिकता भनेको जनतालाई सरल र सहज तरिकाले छिटो सेवा दिनु नै हो । ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गर्ने व्यवस्था गरेका छौं । जनताप्रति उत्तरदायी नहुने, नीति नियम पालना नगर्ने कर्मचारी र जनप्रतिनिधिहरुलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको छु । प्रत्येक सरकारी कार्यालयमा नागरिक वडापत्र राख्ने देखि लिएर जनताले नगरपालिकाबाट पाउने सेवा सुविधाका बारेमा जानकारी दिनका लागि हामीले अनलाईन प्रविधि(डिजिटलाईज) को प्रयोग गर्ने गृहकार्य अगाडि बढाएका छौं ।

० सूर्यविनायक नगरपालिकालाई नमूना नगरपालिका बनाउन तपाईले के–कस्तो पहल कदमी शुरु गर्नु भएको छ ?
– मैले अघि पनि भने हाम्रो पहिलो वर्ष टुक्रे योजनाहरु पूरा गर्न, नीतिगत व्यवस्था र संरचनागत रुपमा नगरपालिकालाई स्थापित गर्नमै वित्यो । पहिलो वर्ष स्थानीय तको नीति निर्माणमा हामी केन्द्रित भयौं । त्यसपछिका दिनमा हामीले नगर विकासलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं । समान्यतयाः सबै नगरपालिकाले दिने सेवा र सुविधा एकै प्रकृतिका हुन्छन् । नगरभित्र बस्ने आम नागरिहरुको आधारभूत आवश्यकतासँगै शिक्षा र स्वास्थ्यमा उनीहरुको पहँुच पु¥याउनु नै नगरपालिकाको कर्तव्य हो । यस मानेमा सूर्यविनायक नगरपालिका अन्य नगरपालिका भन्दा फरक ढंगले अगाडि बढिरहेको छ ।

नगरपालिकालाई धार्मिक रुपमा सम्पन्न बनाउनका लागि हामीले एउटा महत्वकांक्षी योजनामा गृहकार्य गरिरहेका छौं । जसमा वडा नम्बर १ देखी १० नम्बर वडासम्म शिव मार्ग बनाउने देखि विश्व प्रख्यात डोलेश्वरलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने काम अघि बढाएका छौं । त्यसैगरी हाम्रै नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको प्राणी उद्यान केन्द्र जस्तो गौरवको योजना प्रस्तावित भएसँगै त्यसको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पनि म क्रियाशिल भएर लागेको छु ।

० भक्तपुरलाई सफा, स्वच्छ र सुन्दर बनाउनका लागि भइरहेका हनुमन्ते नदी सफाई अभियान र अरनीको राजमार्ग केन्द्रित सफाई अभियानको बारेमा केही बताईदिनुस् न ।
– राष्ट्रले अवलम्वन गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने अभियानलाई सार्थकता प्रदान गर्नका लागि मेरो संयोजकत्वमा हनुमन्ते नदी सफाई अभियान सञ्चालन भइरहेको छ । हामीले यस अभियानको ४० औं हप्ता पूरा गरिसकेका छौं । त्यसैगरी हामी एक महिने अरनीको राजमार्ग केन्द्रित सफाई अभियान पनि सञ्चालन गरिरहेका छौं । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अधिकरण, दुव्र्यसनी, ट्राफिक जामलगायतलाई कम गर्ने उद्देश्यका साथ ‘एक महिने अरनीको राजमार्ग सफाई केद्रित अभियान’ सञ्चालन गरिएको छ । यि दुई अभियानको उद्देश्य भनेको आम जनताको सफाईप्रतिको चेतनास्तर बृद्धि गर्नु नै हो ।

भक्तपुरकै ऐतिहासिक एवम् लाईफ लाईन हनुमन्ते सरसफाई अभियानले पहिलो चरणको हनुमन्ते सरसफाइलाई एउटा उचाइमा पु¥याएको छ । नदी नाला, मठ मन्दिर, बाटोलगायतका स्थानले नै त्यहाँ रहेका हरेक व्यक्तिहरुको पहिचान देखाउने भएकाले ति क्षेत्रहरुमा फोहोर हुँदा नगरपालिकाको पनि पहिचान राम्रो हुँदैन । त्यसैले पनि हामीले सफाई अभियान शुरु गरेका हौं । यि दुबै अभियानमा सूर्यविनायक नगरपालिकाको भरपुर सहयोग रहँदै आएको छ । हामीले संयुक्त रुपमा सफाई अभियान सञ्चालन गरिरहेका छौं । १०० हप्तामा हनुमन्तेलाई सफा बनाएरै छाड्ने हाम्रो प्रतिवद्धतालाई नगरबासीले दिनुभएको साथ र समर्थनले अभियान सफल हुनेमा आशाबादी पनि छौं ।

० नगरपालिकाद्धारा सञ्चालित विकास योजनामा आर्थिक सुशासन कसरी कायम भइरहेका छन् ?
– पहिले हामीले उपभोक्ता समितिबाट काम गर्दै आएका थियौं । तर, उपभोक्ता समितिसँग पनि आवश्यक सामान र दक्ष जनशक्ति नहँुदा उहाँहरुले पनि ठेकेदारलाई नै काम दिनुपर्ने अवस्था देखियो । त्यसैले हामीले आर्थिक पारदर्शीका लागि घटीघटाउमा हरेक ठेक्का टेण्डर प्रक्रियाबाट गर्दै आएका छौं ।

कामको गुणस्तरका लागि प्रत्येक वडामा हामीले दक्ष कर्मचारीलाई राखेर नै काम गरिरहेका छौं । जनताले तिरेको कर कुनै पनि ठाउँमा दुरुपयोग गर्न दिएको छैन र मेरो कार्यकालमा दिन्न पनि । अर्थिक मितव्ययीता र अनुशासनको कुरामा नगरपालिकाले कुनै पनि योजनामा सम्झौता नगर्ने नीति अख्तियार गरेको छ । नगरबासीसँग छलफल गरेर मात्रै हामीले टेण्डर प्रक्रियामा जाने गरेका छौं । त्यसैले नगरपालिकाले गर्ने कुनै पनि काममा आर्थिक अनियमितता भएका छैनन् भन्ने कुरामा म दृढ छु ।

० पछिल्लो समय नगपालिकाभित्र भ्रष्टाचार मौलाएका कुराहरु पनि बाहिर आएका छन् नि ?
– यो कुरा मैले पनि केही पत्रपत्रिकाको मध्यमबाट थाहा पाए । उहाँहरुले मलाई पनि निरिह मेयर भन्नु भएको रहेछ । हुनत मैले २४ घण्टा मध्ये ७ देखि ८ घण्टा सुत्ने बाहेक अरु समय नगरबासीलाई नै दिइरहेको छु । नगरपालिकाले गरिरहेको कामको निरीक्षण देखि जनताको जनगुनासोसम्म सुन्न भ्याएको छु । नगरपालिकाका कर्मचारी र जनप्रनिनिधिहरुलाई गलत गरेको खण्डमा कुनै पनि हालतमा म स्वीकार गर्न सक्दिन भनेर पटक–पटक भनिरहेकै छु ।

तर, केही अमुक व्यक्तिहरुले आफ्ना स्वार्थ पूरा नहुँदा मलाई खाल्डोमा हाल्न खोज्नु भएको छ । त्यो खाल्डोमा उहाँहरु नै पर्ने मैले देखेको छु । मलाई भोट दिएर विजय गराउनु भएकाहरुलाई नै मैले ‘विजय गराएर मात्रै हुँदैन, सफल बनाउन पनि सहयोग गर्नुपर्छ’ भन्दै आएको छु । यसो भन्दै गर्दा मलाई भोट दिएकै भरमा कसैले नीति नियम पालन गर्दिन भन्छ भने म त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न सक्दिन । उहाँहरुलाई मैले नीति नियम विपरित काम गराउने हो भने बरु तपाईहरुको भोट फिर्ता लैजानुस् सम्म पनि भन्दै आएको छु । म मेरो परिवार भित्रकै सदस्य भए पनि गलत गर्न दिने छैन र गर्दिन पनि ।

नीति नियम पालना नहुँदा नै हाम्रो देश छिमेकी देशको आशमा बाँच्नु परिरहेको अवस्था छ । त्यसैले म सबै जनप्रनिनिधि साथीहरुलाई नीति नियम बाहिर गएर कुनै पनि काम नगरौं भन्न चाहन्छु । र, अर्को कुरा मैले यहाँ के जोड्न चाहे भने नगरपालिकाभित्र आर्थिक अनियमिता भयो, कर्मचारीले विद्यालयबाट रकम खाए भन्ने आरोप पनि लागिरहेको छ । जसले त्यस्तो समाचार प्रकाशित गर्नुभयो, उहाँहरुलाई म के आग्रह गर्न चाहन्छु भने प्रमाणसहित मकहाँ आउनुहोस् म कारबाही गरेर देखाउँछु । त्यसैगरी कर असुलीसम्बन्धी अभिमुखीकरण र नगरपालिकाले दिंदै आएको निशुल्क नक्सा पास सेवामा पनि आर्थिक हिनामिना भएको समाचार बाहिर आएको रहेछ । नेपालका विज्ञहरुलाई ल्याएर गरिएको अभिमुखीकरण कार्यक्रममा एक लाखको हाराहारीमा खर्च भएको छ । त्यहाँ पनि सात लाख खर्च भयो भनेर समाचार आएको छ । सात लाख खर्च भएको प्रमाण कसैले पेश गर्छ भने म उहाँकै अगाडि कारबाही गरेर देखाउन तयार छु ।

उहाँहरुले म यो पनि भन्न चाहान्छु कि मैले मात्रै कारबाही गर्ने होइन, यदि म गलत छु र मैले पनि अनियमितता गरेको छु भने मेरो समाचार लेख्नुस् र मलाई कारबाहीको दायरामा ल्याउनुहोस् । म त्यसलाई स्वीकार गर्छु । जतालाई सूसुचित गर्ने सञ्चार माध्यमको भूमिका पनि जिम्मेवार हुनुप¥यो । प्रकृया पूरा नगर्ने जो कोहीलाई पनि कारबाही गर्न तयार छु । म नगरबासीलाई धोका दिने पक्षमा छैन । जसले कानुन र नियम पालना गरेर अगाडि बढ्छ त्यसैलाई नै मेरो साथ रहन्छ ।

Comments

Top