१७ वर्षपछिको औपचारिक भेटले नेपाल र अमेरिकाबीचको सम्बन्धमा नयाँ आयाम

pradeep

  काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउने बताएका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँगको भेटवार्तापछि उनले विगतमा राजनीतिक अस्थिरताका कारण नेपालको परराष्ट्र सम्बन्ध भारत र चीनसँग बढी केन्द्रित भएको स्वीकार्दै विभिन्न देशहरूसँग बलियो सम्बन्ध कायम गर्न अहिलेको सरकार क्रियाशिल हुने बताए।

१७ वर्षपछि नेपाल र अमेरिकाबीच पराराष्ट्र मन्त्रीको तहमा मंनगलवार अपरान्ह वार्ता भएको थियो। उक्त भेटवार्ता एकदमै उपलब्धिपूर्ण भएको मन्त्री ज्ञावलीले बताए। अमेरिकामा रहेका मन्त्री ज्ञवालीले भने–‘ठूलो अपेक्षा बोकेर म यहाँ आएको थिएँ त्यो अपेक्षा प्रभावकारी रूपमा पुरा भएको महसुस गरेको छु।’

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार मन्त्री ज्ञवाली र पोम्पियोबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत र फराकिलो पार्ने सहमति भएको छ । भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध तथा सहकार्यबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाललाई सन् २०३० भित्र मध्यम आयस्तरको मुलक बनाउने लक्ष्यअनुसार नेपाल सरकारले काम गरिरहेको जानकारी गराएका थिए ।

भेटका क्रममा विदेशमन्त्री पोम्पेओले नेपालमा लगानीका लागि अमेरिकी निजी क्षेत्रलाई उत्प्रेरित गर्ने बताएका थिए । १७ वर्षपछि भएको उच्चस्तरीय औपचारिक छलफलमा उत्तर कोरियाको बारेमा समेत छलफल भएको जनाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दुई देशका विदेशमन्त्रीस्तरीय वार्तालाई ऐतिहासिक बैठक भनिएको छ । नेपालसँगको बलियो सहकार्यका लागि अमेरिकाको प्रतिबद्धता समेत व्यक्त गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेल नेपाल आएयता दुई देशबीच औपचारिक भ्रमण भएको थिएन । अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोली हाल अमेरिकामा छ ।

Comments

Top