कलाकारभन्दा निर्देशक बन्ने सोचले मनमा हुटहुटी हुन्छ : कलाकार दयाहाङ् राई

 

 

Dayahang-Rai-Movie-Wife-and-Salary
  काठमाण्डौ । अभिनेता दयाहाङ राई गत वर्षसम्म महिनैपिच्छे पर्दामा देखिरहे । केही फिल्म राम्रै पनि चले भने केहीले निर्माताको विल्लीबाठ बनायो । हातमा आएका फिल्म कुनै नछोड्दा उनी पैसामुखी भएको आरोपबाट पनि खेदिरहेका छन् । यसबाट अझै उनले छुटकारा पाउने छाँटकाट देखिएको छैन ।
भूमिका दमदार भन्दा पनि हातमा आएका फिल्म छाडे पाप लाग्ने सोचाइले उनको करिअर अहिले न यता न उताको स्थितिमा छ । यही कारण उनको स्टारडम विस्तारै कमजोर हुँदै गएको छ । उनले यस वर्षबाट फिल्मको संख्यामा कमी गर्ने पटक–पटक बोलेका थिए । तर, त्यो उनको बोलीमा मात्रै सीमित देखिएको छ । 'साइँली', 'जात्रै जात्रा', 'आप्पा', 'दयारानी', 'निरफूल' उनका प्रदर्शनमा आउन बाँकी फिल्म हुन् भने उनले नयाँ चार फिल्म साइन गरिसकेका छन् । यसरी हेर्दा यस वर्ष र अर्को वर्ष उनका फिल्म हलमा लगातार आइरहनेछन् । पछिल्लो फिल्म 'भैरे' पछि उनका कुनै फिल्म प्रदर्शनमा आएका छैनन् । यस वर्ष उनको 'साइँली' र 'जात्रै जात्रा' रिलिज हुँदैछ । दर्जन बढी नाटक निर्देशन गरिसकेका उनले फिल्म निर्देशन गर्ने कुरा चल्न थालेको पनि लामै समय भइसकेको छ । तर, उनले सही समय र सोचे जस्तो कथा भेटेपछि मात्र फिल्म निर्देशन गर्ने बताउँदै आएका छन् । अब भने उनी आफैंले लेखेको कथामा फिल्म निर्देशन गर्ने तयारीमा रहेको बताइएको छ । यस विषयमा फिल्म 'दयारानी' को कार्यक्रममा दयाहाङले भने, 'फिल्म निर्देशन त गर्छु तर कहिले गर्छु मलाई नै थाहा छैन ।' उनी आफूलाई पहिलादेखि नै कलाकारभन्दा निर्देशक बन्ने सोच रहेको बताउँछन् । उनी थप्छन्, 'सायद ममा निर्देशकभन्दा कलाकार बन्ने क्षमता रहेछ कि भन्ने लाग्छ । तर, मलाई बेला बेलामा निर्देशन गर्छु भन्ने मनमा हुटहुटी भइरहन्छ । मैले निर्देशन गर्न सक्ने कथा भेटेँ भने पक्कै गर्छु ।'

Comments

Top