३८ करोड बढी मुआब्जा वितरण

airport

   काठमाडौं । जीतपुर–सिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीमा निर्माणधिन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले जग्गा र भौतिक संरचनाको लागि ३८ करोड मुआब्जा वितरण गरेको छ।राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल योजनाअनुसार काम अगाडि बढेको पनि आयोजनाले जनाएको छ ।

कहिले जंगल फडानी त कहिले लगानीको विषयले संसदमा समेत चर्चा पाएको यस आयोजना ०५५ सालमा चर्चामा आएपनि आर्थिक वर्ष २०६५÷६६ देखि बजेट बिनियोजन हुँदै आएको छ। तर, अझैसम्म पनि निर्माण सम्पन्न भने हुन सकेको छैन ।

विमानस्थलले दिनुपर्ने १ सय १० बिघा जग्गाको मुआब्जा लगभग अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विमानस्थलले ओगट्ने जग्गा धनीहरुलाई मुआब्जा लिन आउनको लागि निकालिएको सार्वजनिक सूचनापछि १ सय ३३ जना जग्गा धनीहरुले मुआब्जाको लागि सुरुमा निवेदन दिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाई कार्यालय सिमराले जनाएको छ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन एकाई कार्यालयका निर्देशक ओम शर्माले विमानस्थलको लागि अधिग्रहण गरीएको लगभग ५८ विघा जग्गाको १३३ जना जग्गा धनीहरुलाई ३८ करोड भन्दा बढी मुआब्जा वितरण गरिएको बताए।

पछिलो समय निवेदन दिएका १२ जना जग्गा धनीहरुको पाँच बिघा जग्गाको मुआब्जा दिएर अधिग्रहण गर्नको लागि मालपोत, नापी र भुमि सुधार कार्यालयमा चेकजाँच गराउने कार्य सुरु गरीएको शर्माले बताए।

चालु आर्थिक वर्षमै विमानस्थलको लागि अधिग्रहण गरीने एक सय १० बिघा नम्बरी जग्गाको मुअब्जा दिने गरी कार्यहरु तिव्रताका साथ अगाडी बढाइएको र त्यसको लागि बजेट रकमको व्यवस्था मिलाइएको शर्माले दाबी गरे।

दक्षिण एसियाकै सबै भन्दा बढी क्षेत्रफलमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन हुँदा वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्न सकिने आयोजनाले जनाएको छ ।

Comments

Top