‘रोदी’ जोडीको फिल्म अब निर्देशक दीपेन्द्रको हातमा

 

 

 dipendra and deepak-rohit (1)_1काठमाडौं । ‘रोदी’ अर्थात् रोहित अधिकारी र दीपकराज गिरीको संयूक्त ब्यानर रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजबाट निर्माण हुन लागेको अनटाइटल प्रोजेक्टलाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने पक्का भएको छ । केही दिनदेखि निर्माता र निर्देशक लामाबीच लगातार छलफल भइरहेको थियो । 


निर्माता तथा कलाकार दीपकराजले फेसबुकमा एक स्टाटस लेख्दै अंग्रेजी नयाँ वर्ष २०१९ को शुभकामना दिँदै फिल्मको निर्देशकमा लामालाई अनुबन्ध गरेको जानकारी दिएका छन् । उनले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । २०७६ को दशैंमा फिल्म रिलिज गर्ने दीपकराजले घोषणा गरेका छन् ।

निर्देशक लामाले यसअघि फिल्म ‘घामपानी’ को कमान्ड सम्हालेका थिए । फिल्म समीक्षाबाट पत्रकारितामा स्थापित उनको नयाँ फिल्म ‘गोपी’ माघ १८ गतेबाट प्रदर्शनमा आउने तरखरमा छ । मौलिक फिल्म बनाउन माहिर मानिने लामा नयाँ फिल्म उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँछन् ।

यो फिल्म बक्सअफिसमा हिट भएको खण्डमा दीपकराज ले नाफाको ५० प्रतिशत लैजानेछन् । तर, फिल्ममा उनले न पारिश्रमिक लिनेछन् न त लगानी नै गर्नेछन् ।

रोहितको एकल लगानी रहने फिल्ममा दीपकराजको पटकथा लेखन छ । चैत अन्तिम साताबाट फ्लोरमा जाने तयारी भइरहेको फिल्ममा दीपकराज र केदार घिमिरे  (माग्ने बुढा) कलाकारको रुपमा अनुबन्ध भइसकेका छन् । बाँकी कलाकार भने छनोट भैसकेका छैनन् । 'छक्का पञ्जा' का प्रायः सबै कलाकारहरु फिल्ममा हुने बताइएको छ ।

Comments

Top