साढे ८३ लाख रकमसहित चार जना हुण्डी कारोबारी पक्राउ, डिआईजी पाललाई अर्को सफलता

hundi

   काठमाडौं । दुई नम्बर प्रदेश प्रहरी कार्यालयलाई फेरि अर्को सफलता मिलेको छ । दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुबाट खटेको प्रहरी टोलीले ८३ लाख ५७ हजार अवैध रकमसहित हुण्डी कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको हो । प्रहरीले जनकपुर उपमहानगरपालिका–११ किशोरी नगरमा रहेको रामेश्वर शाहको घरबाट हुण्डी गर्न राखिएको उक्त अवैध रकम बरामद् गरेको हो । प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकका ३० थान चेक र भौचर तथा ६ थान मोवाइल समेत बरामद गरेको छ ।

दुई नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी हरी पालले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारत मधुवानी बस्ने सन्तोष महतो र नरेश महतो, जनकपुर बस्ने विजय यादव र मोख्तार अहमदलाई पक्राउ गरिएको जानकारी गराए । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धान गरिरहेको पनि डिआईजी पालले बताए ।

दुई नम्बर प्रदेश प्रहरीको नेतृत्वमा डिआईजी पालको सरुवासँगै तराईमा हतियारधारी समूह, अवैध हुण्डी कारोबारीहरु र अन्य आपराधिक कृयाकलापहरु विस्तारै नियन्त्रणमा आउन थालेका छन् । डिआईजी पालको तदारुकता र निर्देशन कै कारण विगत तीन महिनामा दुई नम्बर प्रदेश अन्तर्गतका बारा, सिराहा, महोत्तरी, पर्सा, रौतहट र सप्तरीलगायतका जिल्लाहरुबाट भन्सार छली ल्याइएका तीन करोड २७ लाख ३८ हजार रकम बरावरको लत्ताकपडा, खाद्य सामाग्री तथा सवारीसाधनका पार्ट पूजा बरामद गरी भन्सारलाई बुझाइएको छ भने ५८ जना व्यक्ति पक्राउ परेका छन् । डिआईजी पालको सरुवा सँगै लागू औषध मुद्दामा १५८ जना व्यक्तिलाई पक्राउ गरी १३९ जनामाथि मुद्दा चलाइएको छ ।

त्यसैगरी सकारी छाप किर्ते दस्तखतमा संलग्न गिरोह पनि प्रहरी फन्दामा परेको छ । भारतीय नोट र अवैध चाँदी सहित पक्राउ परेका चार जनामाथि मुद्दा चलाइएको छ । जघन्य अपराध, अपहरण, ठगी, जबरजस्ती करणी, डाँका, चोरी, लागूऔषधलगायत मुद्दाका ५० जना फरार प्रतिवादीहरुलाई दुई नम्बर प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका यूनिटहरुले पक्राउ गरिसकेको छ ।.

त्यस्तै, दुई नम्बर प्रदेश प्रहरीको विशेष टोलीले अत्याधुनिक हतियार एसएमजीसहित गोइत समूहका चतुर नारायण चौधरीलाई मंगलबार पक्राउ गरेको थियो । प्रदेश नम्बर २ प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालयले चलाएको संयुक्त अप्रेसनमा सिराहाकै धनगढीमाई नगरपालिका–११ का ४६ वर्षीय चतुर नारायण चौधरी पक्राउ परेका थिए ।

चौधरीलाई एसएमजी हतियार १ थान, म्याग्जिन २ थान र ५ राउण्ड गोली सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको थियो । तराईका आपराधिक समूहका गतिबिधीलाई निश्कृय बनाउन डिआईजी पाल आँफै खटिएका छन् । यसअघि सरकारी कागज कीर्ते गरी अर्बौको जग्गा बिक्री गर्ने रत्न सागर मन्दिरका महन्थ बैकुण्ठ दास वैष्णवलाई डिआईजी पालकै पहलमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।

Comments

Top