प्रचारको मैदानामा उत्रिएको चलचित्र 'बुलबुल'को नयाँ तरिका (भिडियो सहित)

 

 

 

   swosकाठमाडौं । पछिल्लो समय चलचित्र प्रचारप्रसार गर्न फिल्ममेकरहरु कुनै कसुर बाँकी राख्दैनन् । प्रचारको मैदानामा उत्रिएको चलचित्र बुलबुलले नयाँ तरिका अपनाएको छ । केही समय अघि नेपालको पाँच ठुला शहरमा फ्ल्यासमोब शैलीमा गीत रिलिज गरेको चलचित्रको टिमले नयाँ तरिकाको थालनि गरेको छ ।

आइतबार प्रचारको सोही शैलीलाई निरन्तरता दिँदै निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको छ । जसमा स्वस्तिमा डबल रोलमा छिन् । उनी स्वस्तिमा बनेर आफुले खेलेको चलचित्र रनकलाको अन्तरवार्ता लिएकी छिन् । निर्देशक विनोद पौडेलले स्वस्तिमा चलचित्रमा निर्वाह गरेको चरित्र रनकलालाई दर्शकमाझ परिचित गराउन अन्तर्वार्ताको शैली अपनाएको बताए ।

‘पहिला दुई टिजरमा हामीले चोपेन्द्रलाई स्थापित गर्ने लक्ष्य राखेका थियौं । हामीलाई प्राप्त प्रतिक्रियाले हामी त्यसमा सफल भएको महसुस गरेका छौं । यसैगरी हामी रनकलालाई पनि परिचित गराउन चाहान्थ्यौं, रचनात्मक उपायको खोजीमा अन्तर्वार्ताको आइडिया आयो,’पौडेलले भने, ‘स्वस्तिमाले आफूलाई कुन लेभलमा चरित्रका लागि रुपान्तरण गरेको छ, भिडियो हेर्दा स्पष्ट हुन्छ ।’

‘साँघुरो’का लेखक पौडेलको फिचर चलचित्रमा यो डेब्यु निर्देशन हो । चलचित्रले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ । चलचित्रमा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् ।

भिडियोसँगै निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गर्ने मिति पनि सार्वजनिक गरेको छ । निर्माता अविरल थापाले माघ १ गते चलचित्रको ट्रेलर सार्वजनिक गर्ने जानकारी गराए ।
चलचिमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् ।

Comments

Top