अनमोल भन्छन्–क्यारेक्टरमा फिट नहुने लागेपछि ‘ब्याचलर बन्टी' छाडेँ ।

 

 

  download_2काठमाडौं । सुपरस्टार अनमोल केसीले निर्देशक मिलन चाम्सको फिल्म ‘ब्याचलर बन्टी’ बाट हात झिकेका छन् । केही समयदेखि उक्त फिल्म नबन्ने खुबै चर्चा चलेको थियो । तर, गएको हप्ता निर्माता सुदीप खड्का र अनमोलबीच भएको छलफलमा बैशाखबाट छायांकन सुरु गर्ने र भदौमा रिलिज गर्ने सहमती जुटेको थियो ।

आइतबार भने सहमतीबाटै अनमोलले औपचारिक रुपमा फिल्म छाडेका छन् । उनले उक्त फिल्म साइन गर्ने बेला निर्माताबाट प्राप्त १० लाख साइनिङ एमाउन्ट मंगलबार टिमलाई फिर्ता गर्दैछन् । यो फिल्म गर्न उनले ४५ लाख पारिश्रमिक बुझेका थिए । अनमोलले ‘ब्याचलर बन्टी’ छाडेको कुरामा सत्यता रहेको बताए ।

उनले भने, आइतबार फिल्म औपचारिक रुपमा छाडें ।’ ‘सुरुमा त मैले उहाँहरुसँग काम गर्ने नै भनेर सोचेको थिएँ । तर, स्टोरी खासै चित्त बुझेन । स्क्रिप्ट नराम्रो भनेको चाहिँ होइन उहाँहरुले राम्रो प्रयास गर्नुभएको छ ।’

फिल्ममा आफू आफ्नो क्यारेक्टरमा फिट नहुने लागेपछि फिल्म छाडेको उनको तर्क छ । अनमोल भन्छन्, ‘जुन क्यारेक्टरमा जति नै प्रयास गरे पनि फिट हुँदिनँ भने त्यो जबरजस्ती रुपमा गर्नु गलत हुन्छ । त्यसैले एग्रिमेन्ट फिर्ता गरेको हुँ ।’ अब अर्को फिल्म केही ग्यापमा साइन गर्ने उनले बताए ।

यो फिल्ममा उनले उकुसा गिरीसँग रोमान्स गर्ने पक्का भइसकेको थियो । भदौ १३ लाई प्रदर्शन मिति समेत पक्का गरिएको थियो । स्रोतका अनुसार, अब यो फिल्ममा पल शाह हुने प्रवल सम्भावना छ । केही हप्ता अगाडि 'वीरविक्रम २' को सेटमा पुगेर निर्माता खड्काले पललाई फिल्म अफर गरेको चर्चा छ ।

अनमोलले, यदि कुनै चुनौतीपूर्ण भूमिका आएको खण्डमा गर्ने समेत स्पष्ट पारे । अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ फागूण १३ र ‘ए मेरो हजुर ३’ चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।

Comments

Top