शिक्षामा विभेद देखिनु राष्ट्रका निम्ति खतरा : सांसद थापा

shashi

   भक्तपुर । प्रदेश नम्बर ३ का सांसद शशिजंग थापाले शिक्षामा असमानता हुन नहुने बताएका छन् । शिक्षामा देखिएको विभेदका कारण नै समाजमा विभिन्न खालका जटिलता उत्पन्न भएको बताउँदै उनले भने–‘शिक्षामा विभेद देखिनु राष्ट्रको निम्ति खतरा हो ।’ प्याब्सन सूर्यविनायक नगर समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै सांसद थापाले आर्थिक, सामाजिक र सांस्कृतिक कारणले शिक्षा वर्गीय हुन पुगेको बताए ।

संविधानले नै शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरेतापनि अझैसम्म पनि शिक्षालार्ई सर्वसुलभ बनाउन नसकिएको बताउँदै उनले निजी विद्यालयहरुकै कारण नेपालमा गुणस्तरीय जनशक्ति उत्पादन भइरहेको दावी गरे ।

शिक्षा क्षेत्रमा निजी विद्यालयहरुले पुर्याएको योगदानको कदर गर्दै सांसद थापाले सरकारी र सामुदायिक विद्यालयले पनि गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।

नगरपालिकाले सूर्यविनायकलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने घोषणा गरिसकेको जानकारी गराउँदै सांसद थापाले नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरुले गुणात्मक प्रतिस्पर्धा गर्नु जरुरी रहेको बताए ।

राजनीतिक अस्थिरताका कारण मुलुकको समृद्धिको बाटोमा अवरोध सिर्जना भएको बताउँदै थापाले अब मुलुक स्थिरतातर्फ उन्मूख भएका कारणले स्वदेशमै अवसरको सम्भावना पनि खुलेको दावी गरे । संसद थापाले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनालाई सार्थक बनाउन नेपालमा उत्पादित जनशक्तिले नेपालमै रहेर परिश्रम गर्नुपर्ने बताए ।

Comments

Top