अतित र सायाको ‘समर लभ’ ट्रेलर सार्बजनिक (भिडियो सहित)

 

 

 

   Ashish Piya, Rewati Chhetri and namrata sapkotaकाठमाडौं । निर्देशक मुस्कान ढकालको निर्देशन तथा युवा लेखक सुविन भट्टराई द्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । घोषणाको ३ वर्षपछि प्रदर्शनका लागि तयार भएको फिल्मको ट्रेलर सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक भयो ।

ट्रेलरमा पुस्तकका केही हृदयस्पर्शी र रमाइला संवादहरुलाई विशेष प्राथमिकता दिइएको छ । 
फिल्ममा लेखकको भूमिकामा सुरजसिंह ठकुरी छन् । घोषणाकै बेलादेखि पात्र छनौटमा चुकेको आरोपबाट मुक्त हुन नसकेको यस फिल्मबाट रेवती र आशिषले डेब्यु गरेका हुन् ।

शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक, मानसविक्रम थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्म उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक ढकाल बताउँछन् । उनी भन्छन्, 'पुस्तक सर्वाधिक रुचाइएको कारण फिल्म राम्रो बनाउन हामीलाई ठूलो दबाव थियो । हामीले हाम्रो तर्फबाट गर्न सक्ने सबै प्रयास गरेका छौं ।'

नव–नायक आशिष चर्चित पुस्तकमाथि बनेको फिल्ममा काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए । उनी भन्छन्, 'पुस्तक पढ्दा जति आनन्द आउँछ फिल्मबाट पनि त्यो खुसी मिल्छ ।' केही बलिउड फिल्म समेत गरिसकेकी रेवती पनि फिल्मलाई दर्शकले रुचाउनेमा आशावादी देखिइन् ।

माघ २५ बाट प्रदर्शनमा आउने फिल्ममा सुविनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । लेखक तिमल्सेनाले पुस्तक पढ्दा पाठकको मन छोएको महत्वपूर्ण पाटोलाई मात्र फिल्ममा उतारिएको बताए । उनले उक्त फिल्म सफल भए 'साया' पुस्तकमा पनि फिल्म बन्ने जानकारी दिए ।

फिल्मको संवाद सुविन र सामीप्य मिलेर लेखेका छन् । फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मको सम्पादनको जिम्मेवारी भने अर्जुन जिसीले लिएका छन् ।

Comments

Top